काठमाडौं । विभागीय टिम आर्मीले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। शुक्रबार सम्पन्न उद्घाटन खेलमा गण्डकी प्रदेशलाई ९९ रनले हराउँदै आर्मीले विजयी सुरुवात गरेको हो।

आर्मीले दिएको २८८ रनको लक्ष्य पछ्याएको गण्डकीले ४८ ओभरमा सबै विकेट गुमाउँदै १८९ रन मात्रै बनायो। उसका लागि समीर कँडेलले ९० बलमा ५ चौकासहित सर्वाधिक ५० रन बनाए।

तर, टिमलाई हारबाट जोगाउन सकेनन्। यस्तै, अर्जुन कुमाले ३६, दीपक डुम्रे २६, विष्णु पाण्डे १२ रन बनाउँदा कप्तान विपिन खत्रीले ३७ रनमा अविजित रहे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङफर्त आर्मीका राजेश पुलामी मगरले ९ ओभरमा २ मेडनसहित २५ रन खर्चेर ५ विकेट लिए।

भीम सार्कीले ७ ओभरमा २६ रन खर्चेर ३ विकेट लिँदा आकाश चन्द र रोहितकुमार पौडेलले १–१ विकेट रह्यो। त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभर ६ विकेट गुमाएर २ सय ८७ रन बनाएको थियो।

उसका लागि कप्तान विनोद भण्डारीले शतकीय पारी खेले। उनले ७६ बलमा ९ चौका र ५ चौकासहित अविजित १ सय ११ रन बनाए। जारी प्रधानमन्त्री कपमा यो उनको पहिलो शतक हो।

भण्डारी आर्मीबाट पीएम कपमा शतक प्रहार गर्ने दोस्रो ब्याट्सम्यान बनेका छन्। यसअघि आर्मीबाट सन् २०१८ मा सगर पुनले पहिलो शतक प्रहार गरेका थिए।

यस्तै, ओपनर राजु रिजालले ४५, हरिकृष्ण झाले १४, रोहितकुमार पौडेलले १०, भीम सार्कीले १४, राजेश पुलामी मगरले ३८ र लोकेश बम ४२ रनको योगदान दिए।

बलिङमा कप्तान विपिन खत्री र विशाल पौडेलले समान २–२ विकेट लिँदा दीपेश खत्री चन्द्र र पौडेलको नाममा एक विकेट रह्यो। गण्डकीले दोस्रो खेल माघ ५ मा प्रदेश १ सँग मूलपानीमा खेल्दा आर्मीले माघ ४ मा कर्णालीसँग मूलपानीमा प्रतिस्पर्धा गर्नेछ।