काठमाडौं । फुटबल एकेडेमी संचालनको लागि अखिल नेपाल फुटबल क्लब (एन्फा) र नेपाल पुलिसबीच सम्झौता भएको छ ।

साँगामा रहेको नेपाल प्रहरी स्कुलमा एकेडेमी संचालनको लागि एन्फा र पुलिसले आइतबार सम्झौता गरेको हो । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्रहरीका एआईजी निरज बहादुर शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरे । कार्यक्रममा आइजी शैलेश थापा क्षेत्रीको पनि उपस्थिति रहेको थियो ।

सम्झौता अनुसार नेपाल प्रहरी स्कुलका ७ विद्यार्थीसहित एन्फाले छनोट गरेका गरि २१ विद्यार्थीलाई एकेडेमीमा भर्ना गरिनेछ । जसमा एन्फाले चार वर्षसम्म एकेडेमीलाई टेक्निकल सहयोग पुर्‍याउनेछ । यस्तै एन्फाले दुई वर्षका लागि खेलाडीहरू प्रदान गर्नेछ र खेल उपकरणहरू समेत प्रदान गर्नेछ ।

कार्यक्रममा एन्फाका उपाध्यक्ष शिक्षित पराजुली, उपेन्द्रमान सिंह, राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य हरि खड्का, लिग कमिटी संयोजक विज्ञान राज शर्मा लगायतको उपस्थिती रहेको थियो ।

एसियाली फुटबल महासंघ (एएफसी)को कार्यक्रम अनुसार पुलिस क्लबले एकेडेमी संचालनमा ल्याउन लागेको हो । यस अघि त्रिभुवन आर्मी फुटबल क्लबले पनि एएफसीको मापदण्ड पुरा गरेसँग एएफसी लाईसेन्स प्राप्त गरेको थियो । लाईसेन्सका लागि आर्मीलाई पछ्याईरहेको पुलिसले सोही अनुरुप एकेडेमी संचालन गर्ने सम्झौता एन्फासँग गरेको हो ।