दमक । सोमबारदेखि झापामा चात्या सा नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । पहिलो दिन उर्लाबारी ११ र पाडाजुँगी एफसी विजयी भएका छन् ।

दमक ३ दुम्सेस्थित चुलाचुली खेलमैदानमा चात्या सा पुस्तकालयले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा उर्लाबारी ११ ले चुलाचुली ११ लाई २-१ गोलले पराजित गर्यो । खेलको सुरुवातीमै १-० गोलको अग्रतालाई जोगाउन नसक्दा चुलाचुलीले अनपेक्षित हार व्यहोरेको हो ।

उर्लाबारीका लागि रोवर्ट घिमिरे र सागर लिम्बूले गोल गरेका थिए भने चुलाचुलीका लागि कप्तान प्रविण राईले सान्त्वना गोल गरे । खेलको म्यान अफ दी म्याच चुलाचुली ११ का आशिष लिम्बू घोषित भए ।

यस्तै, दोस्रो खेलमा पाडाजुँगी एफसीले जीत दर्ता गरेको छ । स्पर्धी धरान लाहुरे एफसीलाई ४-१ गोलअन्तरले पाखा लगाउँदै पाडाजुँगी दोस्रो चरणमा प्रवेश गरेको छ । पाडाजुँगीका लागि विशाल लिम्बू, रोशन धिमाल, उमेश कार्की र म्यान अफ दी म्याच घोषित विक्रम राईले गोल गरे भने धरान लाहुरेका लागि याम लावतीले सान्त्वना गोल फर्काए ।

माघ १६ गते फाइनल हुने प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार पाउने खेल संयोजक रमेश खनालले जानकारी दिए ।