0 Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको उद्घाटन खेलमा आर्मी र पुलिसले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । विभागीय डर्बीमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो ।

बल पोजिसनमा पकड जमाएको आर्मीले सुरुवातमै पुलिसविरुद्ध आक्रमण गरेको थियो । खेलको चौंथो मिनेटमा आर्मीकी विमला चौधरीले डिबक्स बाहिरबाट प्रहार गरेको बल पुलिसकी गोलकिपर सपना राईले मुस्किलले बचाईन् ।

३१ मिनेटमा पुलिसकी निरु थापाको प्रहार पोस्ट नजिकबाट बाहिरिएको थियो । यस्तै खेलको ४४ औं मिनेटमा रश्मी घिसिङले वन भर्सेस वनको स्थितिमा गोल गर्न सकिनन् । उनको प्रहार पुलिसकी गोलकिपर सपनाले उत्कृष्ट बचाउ गरिन् ।

खेलको ८६ औं मिनेटमा पुलिसकी रेखा पौडेलले गोलको अवसर गुमाईन । काउन्टर अट्याकमा पाएको बलमा रेखाले डिबक्सभित्रबाट फितलो प्रहार गरिन् । खेलमा पुलिसकी डिफेन्डर पुजा राना प्लेयर अफ दि म्याच बनिन् । पुलिसको लागि पुजाको डेब्यु खेल हो । यस्तै रेखा पौडेल र गोलकिपर सपना राईले पनि पुलिसबाट डेब्यु गरेकी छिन् । बराबरीसंगै आर्मी र पुलिसले १-१ अंक प्राप्त गरेको छ ।

प्रतियोगिताको दोस्रो दिन दुई खेल हुनेछन् । पहिलो खेलमा साबिक विजेता एपिएफले चन्द्रपुरको सामना गर्नेछ भने दोस्रो खेलमा बिराटनगर महानगरपालिका र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल एन्फा मैदानमा हुनेछ ।

पहिलो पटक डबल राउण्ड रोबिनको आधारमा सुरु भएको महिला लिगमा ७ टोलीको सहभागीता रहेको छ । प्रतियोगितोको विजेता टोलीले १५ लाख प्राप्त गर्दा दोस्रोले ८, तेस्रोले ५, तथा चौथो टोलीले ३ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ ।

यस्तै प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले एक थान स्कुटर प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार प्राप्त गर्नेछन् ।