काठमाडौं । साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बिहीबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ६-० गोल अन्तरले हराउँदै एपीएफले सुखद सुरुवात गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै कप्तान अनिता बस्नेत, अन्जली कुमारी योन्जन र प्रिती राईले एक-एक गोल थपिन् ।

एकतर्फी बनेको खेलको १४ औं मिनेटमा सावित्राको गोलबाट एपीएफले अग्रता बनाएको थियो । मैदानको दायाँ भागबाट मन्जली योन्जनको पासमा सावित्राले डिबक्स भित्रबाट सहजै गोल गरिन् ।

खेलको २२ औं मिनेटमा एपीएफले अग्रता दोब्बर बनायो । मिडफिल्डर अन्जलीले कप्तान अनिताले उपलब्ध गराएको पासमा गोल गरेकी थिइन् ।

खेलको ६२ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३-० को अग्रता दिलाईन् । उनले कप्तान अनिताले मिलाएको पासलाई सिक्स यार्ड बक्सबाट गोल गरेको थिइन् ।

खेलको चौंथो गोल कप्तान अनिताको नाममा रह्यो । खेलको ६४ औं मिनेटमा सावित्राले डिबक्स भित्रबाट मिलाएको बललाई अनिताले वान टचमै गोल गरेकी थिइन् ।

खेलको ७२ औं मिनेटमा सावित्राले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा एपीएफ ५-० ले अघि रह्यो । त्यसपछि खेलको ८९ औं मिनेटमा डेब्यु खेलाडी प्रिती राईले गोल गरेपछि एपीएफले ६-० को फराकिलो जित निकाल्यो ।

जितसंगै एपीएफले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । महिला लिगमा तीन विभागीयसहित ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको विजेताले नगद १५ लाख सहित ट्रफी प्राप्त गर्नेछ । दोस्रोले ८, तेस्रोले ५, चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर र हरेक विधाका खेलाडीले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।