काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा वालिङ नगरपालिका स्याङ्जा र विराटनगर महानगरपालिका मोरङले बराबरी खेल्दै अंक बाडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा वालिङ र विराटनगरले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता भने वालिङले बनाएको थियो ।

खेलको दोस्रो मिनेटमै वालिङले अग्रता बनाएको थियो । कर्नरबाट आएको बलमा सम्झना शर्माले हेड गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् । तर, दोस्रो हाफमा विराटनगर खेलमा फर्कियो ।

विराटनगरकी आशा कुमारीले ६८ औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएकी थिइन् । आशाले करिब २५ यार्डबाट हानेको फ्रिकिक वालिङको गोलरक्षक सावित्री किशनले रोक्न नसक्दा विराटनगरले अंक खोसेको हो ।

त्यसअघि खेलको ७३ औं मिनेटमा वालिङले अग्रता दोब्बर बनाउने मौका पाएको थियो । तर, वालिङकी अमिशा कार्कीले वान भर्सेस वानको स्थितीमा गोल गर्न सकिनन् । विराटनगरका डिफेन्डरले फुत्काएको बललाई अमिशाले सिक्स यार्ड बक्समा पुर्याएपनी गोलरक्षक कल्पना कार्कीले उत्कृष्ट बचाऊ गरिन् । खेलमा प्लेयर अफ दि म्याच वालिङकी सरस्वती हमाल चुनिइन् ।

अब प्रतियोगिताको दोस्रो खेलमा वालिङले चौदण्डीगढी नगरपालिकासँग खेल्नेछ भने विराटनगरले एपीएफ क्लबको सामना गर्नेछ । प्रतियोगिताको तेस्रो दिन शुक्रबार एक खेल हुनेछ । उदयपुरको चौदण्डीगढी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।