काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ६-० गोल अन्तरले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो । पुलिसको जितमा रेखा पौडेल र सिर्जना खड्काले २-२ गोल गरिन् । यस्तै अमृता जैशी र निर्मला बिकले एक-एक गोल गरिन् ।

खेलको २८ औं मिनेटमा रेखाको गोलबाट पुलिसले अग्रता बनाएको थियो । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान निरु थापाले मैदानको दायाँ भागबाट उपलब्ध गराएको पासमा रेखाले वान टच गोल गरेकी हुन् ।

खेलको ४० औं मिनेटमा अमृताले गोल गर्दा पुलिसले अग्रता दोब्बर बनायो । अमृताले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरिन् । अमृताको प्रहार चौदण्डीगढीकी गोलरक्षक देबिका श्रेष्ठले ठम्याउन सकिनन् ।

खेलको ४५ औं मिनेटमा पुलिसले तेस्रो गोल गर्यो । सिर्जनाले प्रहार गरेको बल चौदण्डीकी गोलरक्षक देबिकालाई लाग्दै गोलमा परिणत भएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा निर्मलाले गोल गरेपछि पहिलो हाफमा पुलिस ४-० को अग्रता बनायो । दोस्रो हाफमा पुलिसले थप दुई गर्यो । खेलको ८९ औं मिनेटमा रेखाले व्यक्तिगत दोस्रो गोल गर्दा पुलिस ५-० ले अघि रह्यो । त्यसपछि खेलको अन्तिम मिनेटमा सिर्जनाले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई ६-० को जित दिलाईन् ।

जितसंगै पुलिसले २ खेलमा ४ अंक जोडेको छ । पुलिस तालिकाको शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मीसँग गोलरहित बराबरी खेलेको थियो ।चौदण्डीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।