काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार वालिङ नगरपालिकालाई ७-० गोल अन्तरले पराजित गर्दै आर्मीले पहिलो जित निकालेको हो । आर्मीको जितमा विमला चौधरीले ह्याट्रिक गरिन् । यस्तै दिपा राई, शर्मिला थापा, भुजुङ्गा राई र हेमा चौधरीले एक एक गोल गरिन् ।

तीन विदेशी खेलाडीसहित मैदान उत्रिएको वालिङविरुद्ध आर्मीले १५ औं मिनेटमा अग्रता बनाएको थियो । शर्मिला थापाको क्रस पासमा विमलाले गोल गरेकी थिइन् ।

खेलको २८ औं मिनेटमा दिपाको गोलबाट आर्मीले अग्रता दोब्बर बनायो । सपना लामाले उपलब्ध गराएको पासमा दिपाले वालिङकी गोलकिपर सावित्री किशनलाई बिट गर्दै गोल गरेकी थिइन् ।

खेलको ४४ औं मिनेटमा शर्मिलाले गोल गर्दा आर्मी पहिलो हाफमा ३-० ले अघि रह्यो । विमलाले प्रहार गरेको बल वालिङकी गोलकिपर सावित्रीले नियन्त्रणमा लिन नसकेको बलमा शर्मिलाले गोल गरेकी हुन् ।

दोस्रो हाफमा पनि आर्मीले गोल गर्ने क्रमलाई कायम राख्यो । खेलको ६६ औं मिनेटमा विमलाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ४-० को अग्रता दिलाईन् । विमलाले वालिङको बिदेशी खेलाडी भेनिसा नोएलीले गरेको गल्तिको फाउदा उठाउदै भली गोल गरेकी थिइन् ।

प्लेयर अफ दि म्याच बनेकी विमलाले ७५ औं मिनेटमा ह्याट्रिक पुरा गरिन् । वालिङको गोलकिपर सावित्रीबाट आएको रिबाउण्ड बललाई उनले पोस्टको दिशा दिईन् । शर्मिलाको सशक्त प्रहार सावित्रीले पन्च गरेकी थिइन् ।

खेलको ८९ औं मिनेटमा हेमाले गोल गर्दा आर्मी ६-० ले अघि रह्यो । दोस्रो हाफमा मैदान प्रवेश गरेकी हेमाले सिक्स यार्ड बक्स नजिकैबाट गोल गरेकी थिइन् ।

त्यसपछि खेलको इन्जुरी समयमा भुजुङ्गाले गोल गर्दै आर्मीलाई ७-० को जित दिलाईन् । दोस्रो हाफमा मैदान प्रवेश गरेकी उनले विमलाको पास सदुपयोग गर्दै वालिङका गोलकिपरलाई बिट गर्दै गोल गरेकी थिइन् ।

जितसंगै आर्मीले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा आर्मी नेपाल पुलिस क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । वालिङको यो पहिलो हार हो ।

पहिलो खेलमा वालिङले विराटनगर महानगरपालिकासँग १-१ गोलको बराबरी खेलेको थियो । वालिङले २ खेलमा १ अंक जोडेको छ ।

आर्मीका मुख्य प्रशिक्षक राजु तामाङले खेलमा अझै सुधार गर्नु पर्ने देखिएको बताए । ‘पहिलो खेलमा अट्याकमा र स्कोरमा समस्या थियो । त्यसैमा फोकस गरेका थियौ । सुरुमै गोल निस्किदा सहज भयो’, उनले भने, ‘७ गोल भए पनि अझै गोल हुने मौका थियो । अझै सुधार गर्नुपर्छ ।’

वालिङका मुख्य प्रशिक्षक दिलिप थापाले विदेशी खेलाडीसँगको तालमेल नमिल्दा हार व्यहोरेको बताए । ‘विदेशी खेलाडी ट्याक्टिकली रुपमा राम्रो देखियो । विदेशी खेलाडीसँगको तालमेलमा कमजोरी भयो’, उनले भने, ‘उनीहरुसँग जुनियरले खेल्न सकेन ।’