काठमाडौं । विभागीय टिम एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा विराटनगर महानगरपालिकालाई ७-० गोल अन्तरले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो ।

एपीएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै अनिता केसीले २ गोल गर्दा सरु लिम्बुले एक गोल गरिन् ।

खेलको नवौं मिनेटमा अनिताले गोल गर्दै एपीएफलाई अग्रता दिलाईन् । अन्जली योन्जनले प्रहार गरेको बल विराटनगरकी गोलकिपर कल्पना कार्कीले नियन्त्रणमा लिन नसक्दा गोलपोस्ट नजिकै रहेकी अनिताले सहजै गोल गरिन् ।

खेलको २५ औं मिनेटमा सावित्राले गोल गर्दै एपीएफलाई २-० को अग्रता दिलाईन । मैदानको बिच भागबाट एकल प्रयासमा बल अगाडी बढाएर सावित्राले विराटनगरकी गोलकिपर कल्पनालाई बिट गर्दै सहजै गोल गरिन् ।

खेलको ४२ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दा एपीएफ पहिलो हाफमा ३-० ले रह्यो । दोस्रो हाफमा एपीएफले थप चार गोल गर्यो । खेलको ७२ औं मिनेटमा सरुले गोल गर्दै एपीएफलाई ४-० को अग्रता दिलाईन् ।

लगत्तै ७४ औं मिनेटमा सावित्राले तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा एपीएफ ५-० ले अघि रह्यो । खेलको ७९ औं मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ६-० को अग्रता दिलाईन् । उनले डिबक्स भित्रबाट उत्कृष्ट चिप गोल गरिन् ।

त्यसपछि खेलको ८९ औं मिनेटमा सावित्राले व्यक्तिगत चौंथो गोल गर्दै एपीएफलाई ७-० को जित दिलाईन् । खेलमा सरु लिम्बु प्लेयर अफ दि म्याच चुनिईन ।

लगातार दोस्रो जितसंगै एपीएफ लिगको शीर्ष स्थानमा उक्लिएको छ । एपीएफले २ खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा एपीएफले चन्द्रपुर नगरपालिकालाई ६-० ले हराएको थियो ।

विराटनगरले २ खेलमा १ अंक जोडेको छ । विराटनगरको यो पहिलो हार हो । पहिलो खेलमा विराटनगर वालिङसँग बराबरीमा रोकिएको थियो । लिगमा आर्मी २ खेलमा ४ अंक जोडेर दोस्रो र पुलिस ४ अंक सहित तेस्रो स्थानमा रहेको छ ।

यसैबीच, एपीएफका प्रशिक्षक जनक सिंह थारुले विपक्षिले डिफेन्सिभ खेल्दा गोल कम निस्किएको बताए । ‘अझै स्कोर बढी हुनु पर्ने हो भएन । विपक्षीले डिफेन्सिभ खेल खेल्यो । हामीले गोल बढाउन सकेनौ । आजको खेलमा १०-१२ गोल हुनु पर्ने थियो’, उनले भने ।

विराटनगरका प्रशिक्षक पारस चौधरीले अघिल्लो खेलको तुलनामा टिमले सुधार गरेको बताए । ‘पहिलेको भन्दा राम्रो खेल्यो । चित्त बुझ्दो थियो । एपीएफ ठुलो टिम हो । रणनीति डिफेन्स थियो’, उनले भने, ‘चार गोलमै रोक्ने रणनीति थियो । हाम्रो खेलाडीमा अनुभबी खेलाडी भएन । विभागसँग कम गोल खान खेल्छौं । अन्य टिमलाई कडा चुनौती दिनेछौँ ।’