0 Shares

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित दर्ता गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७-१ गोल अन्तरले पराजित गर्दै चन्द्रपुरले पहिलो जित निकालेको हो ।

चन्द्रपुरको जितमा सबिता राना मगरले ह्याट्रिक गरिन् । यस्तै रजनी थोकरले दुई गोल गरिन् । दिल कुमारी राना मगर र सुनिता भोलानले एक एक गोल गरिन् । चौदण्डीकी अन्जना थुलुङले एक गोल फर्काईन् ।

यसैबीच, चन्द्रपुरका मुख्य प्रशिक्षक नुरराज काफ्लेले विपक्षी टिममा स्टार खेलाडी नभएको कारण जित निकाल्न सहज भएको बताए ।

‘हाम्रो खेलाडीमा एपीएफ भन्ने बित्तिकै मनोबल गिर्ने गर्छ । अघिल्लो खेलमा त्यहिँ भयो । आज स्टार नभएर हाम्रो प्रदर्शन हाई भयो’, उनले भने, ‘पहिलो खेलमा बराबरीको लागि डिफेन्सिभ खेलेका थियौं । आज विपक्षी बराबर भएपछि तालमेल नि मिल्यो मनोबल पनि बढ्यो । राम्रो नतिजा आयो ।’

चौदण्डीका मुख्य प्रशिक्षक दिपक थापाले सामान्य गल्तिको कारण हार व्यहोर्नु परेको बताए ।

‘पहिलो खेलमा पुलिससँग डिफेन्स खेल खेलका थियौं । पहिलो खेलमा तालमेल नमिल्दा हार्न बाध्य भयौं । आज अट्याकिङ थियो । सुरुमा अग्रता बनायौं तर जोगाउन सकेनौं । सिल्ली मिस्टेकले गोल खायौं’, उनले भने, ‘डिफेन्स र मिडफिल्डरमा तालमेल भएन ।’