शनिश्चरे । सहिद सप्ताह विशेष कार्यक्रमअन्तर्गत आयोजित वडास्तरीय नकआउट भलिबल प्रतियोगिताको उपाधि अर्जुनधारा वडा नम्बर ६ ले जितेको छ ।

स्थानीय पुनर्जागरण युवा क्लबद्वारा आयोजित भलिबल प्रतियोगिताको फाइनलमा वडा नम्बर ९ लाई सोमबार पराजित गर्दै अर्जुनधारा ६ ले नगद पुरस्कार पाएको छ । बेष्ट अफ फाइभको आधारमा सञ्चालित प्रतियोगिताको फाइनल खेलमा अर्जुनधारा-९ लाई २५-२०, १७-२५, २५-११ र २५-२० सेटले अर्जुनधारा-६ ले जितेको हो ।

जितसँगै अर्जुनधारा-६ ले नगद पुरस्कार १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता अर्जुनधारा-९ ले नगद पुरस्कार १० हजारसहित शिल्ड मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

प्रतियोगिताको अनुशासित टिम अर्जुनधारा-७ घोषितहुँदै नगद १ हजार १ सय, उत्कृष्ट खेलाडी विजेता टिमका महेन्द्र गौलीले नगद १ हजार १ सय र उदीयमान खेलाडी उपविजेता टिमका कृष्ण खतिवडा घोषित भएर नगद ५ सय पाउन सफल भए ।

क्लबका अध्यक्ष सन्तोष पौड्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि निवर्तमान सांसद् राजेन्द्र लिङदेन फाइनल खेलको उद्घाटन गरेका थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी सन्तोष आचार्य, जग्गादाता गणेश खतिवडालगायतले उनीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

गएको माघ १० गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा आयोजक क्लबसहित नौ टिमको सहभागिता रहेको थियो । क्लबका सचिव दिनेश खतिवडाले स्वागत तथा सहसचिव दुर्गा रिमालले औचित्य माथि प्रकाश पारेको कार्यक्रममा नगर खेलकुद विकास समितिका संयोजक अर्जुन मेचे, नमूना सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष सूर्यप्रकाश अधिकारी, स्थानीय समाजसेवी वसन्त रिमाललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन प्रभात मिश्रले गरेका थिए ।

क्लबले सप्ताह विशेष कार्यक्रम अन्तर्गत यही माघ १७ गते नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने सचिव खतिवडाले जानकारी दिए । नगर खेलकुद विकास समितिले प्रतियोगिताको पहिलो पुरस्कार रकम र खेल सामग्री उपलब्ध गराएको थियो ।