काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (मंगलबार) दुई खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले स्याङ्जाको वालिङ नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।

पुलिस र वालिङबीचको खेल बिहान ११ः३० बजे सुरु हुनेछ । वालिङविरुद्ध मैदान उत्रदा पुलिस दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मीसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

तर, दोस्रो खेलमा पुलिसले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ६-० गोल अन्तरले पराजित गरेको थियो ।पुलिस २ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । वालिङ भने पहिलो जितको खोजीमा हुनेछ ।

पहिलो खेलमा वालिङले विराटनगर महानगरपालिकासँग १-१ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा वालिङ आर्मीसँग ७-० ले पराजित भएको थियो । वालिङको २ खेलमा १ अंक रहेको छ ।

यस्तै दोस्रो खेलमा साविक विजेता एपीएफले आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । एपीएफ र आर्मीबीचको खेल अपरान्ह २ः३० बजे सुरु हुनेछ । एपीएफ लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ ।

पहिलो खेलमा एपीएफले चन्द्रपुर नगरपालिकालाई ६-० ले हराएको थियो । दोस्रो खेलमा एपीएफले विराटनगर महानगरपालिकालाई ७-० ले हराएको थियो । एपीएफ २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

आर्मी दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा पुलिससँग गोलरहित बराबरी खेलेको आर्मीले दोस्रो खेलमा वालिङलाई ७-० ले हराएको थियो । आर्मी २ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।