0 Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा साविक विजेता एपीएफले लगातार तेस्रो जित निकालेको छ ।

मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै एपीएफले तेस्रो जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जित दिलाउन अन्जली कुमारी योन्जन र सरु लिम्बुले एक-एक गोल गरिन् ।

बलियो टिम आर्मीविरुद्ध एपीएफले दुबै गोल पहिलो हाफमा गरेको थियो । खेलको २७ औं मिनेटमा अन्जलीले गोल गर्दै एपीएफलाई अग्रता दिलाईन् । साबित्रा भण्डारीले मिलाएको पासमा अन्जलीले बायाँ खुट्टाले दोस्रो बारमा आकर्षण गोल गरिन् ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा सरुले गोल गर्दै एपीएफलाई २-० को जित दिलाईन् । सरुले पनि साबित्राको पासलाई सदुपयोग गरिन् । एपीएफकी अनिता केसी प्लेयर अफ दि म्याच घोषित भईन् । जितसँगै एपीएफले ३ खेलमा ९ अंक जोडेको छ । एपीएफ तालिकाको शीर्ष स्थानमा रहेको छ ।

एपीएफले पहिलो खेलमा चन्द्रपुर नगरपालिकालाई ६-० ले हराएको थियो । दोस्रो खेलमा एपीएफले विराटनगर महानगरपालिकालाई ७-० ले हराएको थियो । आर्मीको यो पहिलो हार हो ।

पहिलो खेलमा पुलिससँग गोलरहित बराबरी खेलेको आर्मीले दोस्रो खेलमा वालिङलाई ७-० ले हराएको थियो । आर्मी ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । नेपाल पुलिस क्लब ५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।