काठमाडौं । मोरङको विराटनगर महानगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित निकालेको छ ।

बुधबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ५-० गोल अन्तरले पराजित गर्दै विराटनगरले पहिलो जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विराटनगरलाई जित दिलाउन कुसुम खड्काले ह्याट्रिक गरिन् । यस्तै अनु राई र सरिता शेर्पाले एक एक गोल गरिन् ।

कुसुमले खेलको १२ औं मिनेटमा गोल गर्दै विराटनगरलाई अग्रता दिलाएकी थिइन् । कुसुमले काउन्टर अट्याकमा गोलरक्षक युनिशा राईसँगको वान भर्सेस वानको स्थितिमा गोल गरिन् । खेलको ३२ औं मिनेटमा विराटनगरले अग्रता दोब्बर बनायो । मिडफिल्डर अनुले चन्द्रपुरकी गोलरक्षक युनिशा अगाडि बढेको फाइदा उठाउदै चिप गोल गरिन् ।

दोस्रो हाफमा विराटनगरले थप तीन गोल गर्यो । खेलको ३६औं मिनेटमा डिफेन्डर सरिताले गोल गर्दा विराटनगर ३-० ले अघि रह्यो । उनले डिबक्स बाहिरबाट दोस्रो बारमा आकर्षक गोल गरिन् ।

खेलको ७४ औं मिनेटमा कुसुमले व्यक्तिगत दोस्रो गोल गर्दै विराटनगरलाई ४-० को अग्रता दिलाईन् । चन्द्रपुरको गोलरक्षक र डिफेन्डरबीचको तालमेल नमिल्दा उनले गोल गरेकी थिइन् । त्यसपछि खेलको ७५ औं मिनेटमा कुसुमले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पुरा गर्दै विराटनगरलाई ५-० को जित दिलाईन् । उनले काउन्टरमा गोल गरेकी थिइन् ।

जितसंगै विराटनगरले ३ खेलमा ४ अंक जोडेको छ । यस अघि विराटनगरले पहिलो खेलमा वालिङसँग १-१ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा भने विराटनगर एपीएफसँग ७-० ले पराजित भएको थियो ।

चन्द्रपुरको यो दोस्रो हार हो । चन्द्रपुरले ३ खेलमा ३ अंक जोडेको छ । चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७-१ गोल अन्तरले पराजित गरेको थियो । पहिलो खेलमा भने चन्द्रपुर एपीएफ क्लबसँग ६-० ले पराजित भएको थियो ।