अर्जुनधारा । खेलाडी उत्पादन गर्ने उद्देश्यले निर्माण गरिएको मेरो तालिम घर बिहीबारदेखि सञ्चालनमा आएको छ । अर्जुनधारा ८ मा निर्माण गरिएको तालिम घरमा गुरुलाई सम्मान गर्दै सञ्चालनमा आएको हो ।

शनिश्चरे तेक्वान्दो डोजाङले प्रशिक्षण प्रदान गर्ने गरी तालिम घर निर्माण भएको हो । डोजाङका प्रशिक्षक कुमार भट्टराईले १० धुर जमिन उपलब्ध गराएपछि तालिम घर निर्माणको पहल अघि सारिएको थियो । तालिम घरको उद्घाटन नेपाल तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष प्रकाश समशेर राणाले दीप प्रज्वलन गरी गरेका थिए ।

करिब १४ लाख रुपैयाँको लागतमा एउटा तालिम हल, दुई वटा चेन्जिङ रुम, दुई वटा ट्वाइलेट, एउटा स्टोर रुम र एक कार्यालय कक्ष बनेको मेरो तालिम घरको उद्घाटनका क्रममा शनिश्चरे डोजाङका संस्थापक गुरु जितेन्द्र मेचेलाई चाँदीको मेडलसहित सम्मानपत्रले सम्मान गरिएको थियो ।

डोजाङका अध्यक्ष मदन बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा संघका अध्यक्ष राणा, दाताहरुको तर्फबाट सहारा साकोसका सिइओ महेन्द्रकुमार गिरी, जिल्ला खेलकुद विकास समितिका प्रमुख टहलदास मैनाली, अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना र तेक्वान्दोका संंस्थापक अध्यक्ष दीपराज गुरुङले आफ्ना भनाइ राखेका थिए ।

डोजाङका प्रशिक्षक तथा जग्गादाता कुमार भट्टराईले सञ्चालन गरेको कार्यक्रममा झापा तेक्वान्दो संघका जिल्ला अध्यक्ष बाबुलाल सुब्बाले स्वागत गरेका थिए ।