बिर्तामोड । गुठीकाे जग्गा व्यक्तिकाे नामबाट फेरि गुठीमै फिर्ता भएपछि खेल क्षेत्रका खेलप्रेमी उत्साहित भएका छन् । विभिन्न व्यक्तिको नाममा पुगेको जग्गा फिर्ता भएपछि अब भने डोमालाल राजवंशी रंगशाला बन्ने पक्का भएको छ ।

रंगशालाले फिर्ता भएको गुठीको जग्गा भोगाधिकारमा ल्याउने पहलसमेत थालेको छ । रंगशाला रहेको जग्गा विभिन्न व्यक्तिको नाममा भएपछि रंगशालाको भविष्य अनिश्चितजस्तै रहेको थियो । देवी गुठीको जग्गा आफ्नो नाममा पार्ने व्यक्तिहरुबाट जग्गा फिर्ता गराउन महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पहल गरेका थिए ।

जग्गा फिर्ताको लागि पहल गर्ने खरेललाई खेलप्रेमी र खेलाडीहरुले धन्यवाद दिएका छन् । झापा ११ फुटबल क्लब, ,झापा गोल्डकप र झापा फुटबल क्लबले महान्यायाधिवक्ता खरेललाई धन्यवाद दिँदै गुठी संस्थानबाट रंगशाला बनाउनका लागि भोगाधिकार दिलाउने विषयमा समेत पहल गरिदिन आग्रह गरेका छन् ।

२०५२ सालभन्दा अघि तत्कालिन अनारमनी गाउँ विकास समितिले संचालन गरेको अनारमनी दुर्गा गुठी संस्थानको जमिन राज गुठीमा लगी विभिन्न व्यक्तिले आफ्नो नाममा हत्याएका थिए । मोही टिकादेवी विमलीको नाममा कायम भएको २ विगाह ८ कठ्ठा १८ धुर जग्गा उनका छोरा केशव विमलीले अनारमनी दुर्गा स्थान राजगुठी संस्थानकै नाममा दाखिला हुनेगरी फिर्ता दिएका हुन् ।

त्यस्तै केशवका काका सूर्यकुमार विमलीले आफ्नो नाममा पारेको ७ कठ्ठा जग्गा फिर्ता गर्न लागेको जनाइएको छ । रमेश महर्जनको नाममा रहेको ८ कठ्ठा जग्गा पनि फिर्ताको पहल भइरहेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । जग्गा फिर्ता भएपछि बिर्तामोड नगरपालिकाले पनि सो जग्गामा रंगशाला बनाउन पहल गर्ने आश्वासन दिइसकेको छ ।

कार्यक्रममा झापा ११ फुटबल संघका अध्यक्ष जलकुमार गुरुङ, महासचिव गणेश पोखरेल, झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत, झापा फुटबल संघका अध्यक्ष गजेन्द्रबहादुर पौडेललगायतले बोलेका थिए । कार्यक्रममा खेलाडीहरुको पनि उपस्थिति रहेको थियो ।

डोमालाल राजवंशीले बिर्ताबजारमा रहेको दुर्गा मन्दिरको नाममा १२ विगाहभन्दा बढी जग्गा दान दिएका थिए । सो जग्गालाई देवी गुठीहुँदै राजगुठीमा लगेर बेचिखाने काम भएको थियो ।