काठमाडौं । यहाँ जारी राष्ट्रिय महिला लिग फुटबलमा एकै खेलबाट दोहोरो ह्याट्रिकको रेकर्ड भएको छ । यो पहिलो रेकर्ड हो । उनै खेलाडीले १२ मिनेटभित्र ह्याट्रिक पूरा पनि गरेकी छन् ।

स्याङ्जाको वालिङ नगरपालिकाले पहिलो जित निकाल्ने क्रममा दोहोरो ह्याट्रिक बनेको हो । तर, एकै खेलबाट दोहोरो ह्याट्रिक गर्ने खेलाडी भने विदेशी हुन् । एपीएफकी सावित्रा भण्डारीले चार खेल खेल्दै तेस्रो ह्याट्रिक गरे पनि एकै खेलमा दोहोरो ह्याट्रिक भने गरेकी छैनन् ।

बिहीबार उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०-० गोल अन्तरले पराजित गर्दै वालिङले पहिलो जित निकालेको थियो ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा वालिङलाई जित दिलाउन विदेशी खेलाडी मिथो रुथले दोहोरो ह्याट्रिक गरेकी हुन् ।

यस्तै सोही खेलमा सम्झना शर्माले दुई गोल गर्दा मनमाया दमाई र टौटा ओरेनेला नोईलीले एक-एक गोल गरिन् । चौदण्डीविरुद्ध एकतर्फी खेल पस्किएको वालिङले सातौं मिनेटमा क्यामरुनी खेलाडी रुथको गोलबाट अग्रता बनाएको थियो । रुथले अमिषा कार्कीको पास सदुपयोग गर्दै गोलरक्षक देविका श्रेष्ठलाई बिट गर्दै गोल गरिन् ।

खेलको नवौं मिनेटमा रुथले व्यक्तिगत दोस्रो गोल गर्दै वालिङलाई २-० को अग्रता दिलाईन् । चौदण्डीका डिफेण्डरको तालमेल नमिलेको फाइदा रुथले उठाईन् । खेलको १९ औं मिनेटमा रुथले ह्याट्रिक पुरा गर्दा वालिङ ३-० ले अघि रह्यो । उनी जारी महिला लिगमा सबैभन्दा छिटो ह्याट्रिक पुरा गर्ने खेलाडी बनिन् । रुथले १२ मिनेटको अवधिमा ह्याट्रिक पुरा गरेकी हुन् ।

यस्तै खेलको ३३ औं मिनेटमा मनमायाले गोल गरेपछि पहिलो हाफमा वालिङ ४-० ले अघि रह्यो । लिगमा पहिलो गोल गर्ने क्रममा उनले गोलरक्षक देविकालाई बिट गरिन् । दोस्रो हाफमा वालिङ थप ६ गोल गर्यो । खेलको ४९ औं मिनेटमा क्यामरुनी खेलाडी टौटा नोउलीले गोल गर्दै वालिङलाई ५-० को अग्रता दिलाईन् ।

खेलको ६३ औं मिनेटमा रूथले व्यक्तिगत चौथो गोल गर्दा वालिङले ६-० को अग्रता बनायो । चौदण्डीकी गोलरक्षक देविकासँगको वान भर्सेस वानको स्थितिमा रुथले सहजै गोल गरिन् । क्यामरुनी रुथले खेलको ७१ औं मिनेटमा व्यक्तिगत पाँचौ गोल गर्दा वालिङको अग्रता ७-० को पुग्यो ।

खेलको ८० औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेकी सम्झनाले गोल गर्दै वालिङलाई ८-० को अग्रता दिलाए । पहिलो गोल गरेको एक मिनेट नबित्दै ८१ औं मिनेटमा सम्झनाले व्यक्तिगत दोस्रो गोल गर्दा वालिङ ९-० ले अघि रह्यो ।

त्यसपछि खेलको इन्जुरी समयमा रुथले दोहोरो ह्याट्रिक पुरा गर्दा वालिङले १०-० को जित निकाल्यो । जारी लिगमा दोहोरो ह्याट्रिक पुरा गर्ने उनी पहिलो खेलाडी बनिन् ।

जितसंगै वालिङले ३ खेलमा ५ अंक जोडेको छ । चौदण्डीको यो लगातार तेस्रो हार हो । चौदण्डी अंक विहीन रहेको छ ।