दमक । मंगलबारे युवा क्लब मोरङ चात्या सा नकआउट फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

दमक ३ दुम्सेस्थित चुलाचुली खेलमैदानमा शुक्रबार आयोजित फाइनल खेलमा विपक्षी डाकिनी एफसी दमकलाई ३-० गोल अन्तरले पराजित गर्दै मंगलबारे च्याम्पियन बनेको हो ।

माघ ५ गतेदेखि सुरु प्रतियोगितामा १६ वटा टिम सहभागी थिए । फाइनल खेलमा डाकिनीविरुद्ध मंगलबारेका निरज बस्नेत, सन्तोष न्यौपाने र सुमन भुजेलले गोल गरेका थिए ।

प्रतियोगिताको फाइनल खेलमा निरज बस्नेत म्यान अफ दी म्याच घोषितहुँदै एक थान हेड सेट पाउन सफल भए । त्यस्तै, मंगलबारेकै सन्तोष न्यौपाने बेस्ट मिडफिल्ड, समिर तामाङ बेस्ट डिफेन्स र सुरेश राई बेस्ट कोच सावित भए ।

आयोजक चात्या सा पुस्तकालयका खेलाडी समिर राई उदीयमान खलाडी घोषित हुँदा डाकिनी एफसीका समिर राई उत्कृष्ट गोलरक्षक, चार गोल गरेका सनम धिमाल सर्वाधिक गोलकर्ता र अन्जित धिमाल प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए ।

विजेता मंगलबारे युवा क्लबले नगद ५० हजार र उपविजेता डाकिनी एफसीले नगद २५ हजार र ट्रफीमा चित्त बुझायो ।