बिर्तामोड । सहिद दिवसको अवसर पारेर बिर्तामोडमा आयोजित नगरस्तरीय मिनी म्याराथनको उपाधि रविन सुब्बा र सुनिता किस्कुले जितेका छन् ।

बिर्तामोड नगरपालिकाअन्तर्गत नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ सुब्बाले सात किलोमिटरको दूरी २६ मिनेट ०७ सेकेन्डमा पूरा गरेका थिए ।

त्यस्तै, दोस्रो भएका अनिस बस्नेतले २७ मिनेट २४ सेकेन्ड, तेस्रो भएका विधान राईले २७ मिनेट ४५ सेकेन्ड, चौथो भएका दावा तामाङले २८ मिनेट र पाँचौँ भएका मनिष श्रेष्ठले २८ मिनेट २२ सेकेन्डमा दौड पूरा गरेका थिए ।

त्यस्तै, महिलातर्फको पाँच किलोमिटर दौडमा सुनिताले २३ मिनेट ३० सेकेन्डमा दौड पूरा गरेकी थिइन् । दोस्रो भएकी ईश्वरी लिम्बूले २३ मिनेट ३५ सेकेन्ड, तेस्रो भएकी भावना राईले २५ मिनेट ३० सेकेन्ड, चौथो भएकी माया तामाङले २६ मिनेट ३१ सेकेन्ड र पाँचौँ भएकी आइसा राईले २७ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरेकी थिइन् ।

विजेताहरुले क्रमशः नौ हजार, सात हजार, पाँच हजार, तीन हजार र एक हजार नगदसहित प्रमाणपत्र पाए । पुरुषतर्फ ५५ जना र महिलातर्फ १६ जनाले प्रतियोगितामा भाग लिएका थिए ।

म्याराथनको उद्घाटन १ नम्बर प्रदेशका प्रदेशसभा सदस्य एकराज कार्कीले सिठी फुकेर गरेका थिए । समितिका अध्यक्ष टिकाप्रसाद संग्रौलाको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा प्रदेशसभा सदस्य एकराज कार्कीले स्वास्थ्यका लागि मात्र नभई राष्ट्र लागि पनि खेलकुद जरुरी रहेको उल्लेख गरे ।

त्यस्तै, नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले गत वर्षबाट सुरु भएको मिनी म्याराथन प्रतियोगिता आगामी वर्षमा अझ स्तरीय र व्यवस्थित बनाइने बताए । झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले च्याम्पियन बन्न त्यति सहज नभएको र खेलाडीले जित्नकै लागि खेल्नुपर्ने बताए ।

विजेतालाई प्रदेशसभा सदस्य कार्की, नगरप्रमुख शिवाकोटी, झापा ११ एफसीका अध्यक्ष गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल, जिल्ला ट्राफिक प्रमुख प्रकाश जवेगू, वडा नम्बर ३ का वडा अध्यक्ष भोजराज सिटौला, वडा नम्बर १० का वडा अध्यक्ष दूर्योधन गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

समितिका उपाध्यक्ष दुर्गाराज निरौला र केशव भण्डारीले सहजीकरण गरेको कार्यक्रममा सञ्चारकर्मी सरोज पौडेलले स्वागत गरेका थिए ।