काठमाडौं । विराटनगर महानगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा चौदण्डीगढी नगरपालिकालाई ६-० गोल अन्तरले पराजित गर्दै विराटनगरले दोस्रो जित निकालेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विराटनगरलाई जित दिलाउन अनु राईले दुई गोल गरिन् । यस्तै ईमा राई, मनिषा थापा मगर, कुशुम खतिवडा र पार्वती घलेले एक एक गोल गरिन् ।

खेलको २१ औं मिनेटमा अनुले गोल गर्दै विराटनगरलाई अग्रता दिलाएकी थिइन् । खेलको ३६ औं मिनेटमा अनुले व्यक्तिगत दोस्रो गोल गर्दा विराटनगरले २-० को अग्रता बनायो ।

खेलको ३९ औं मिनेटमा ईमाले गोल गर्दा विराटनगर ३-० ले अघि रह्यो । खेलको ४३ औं मिनेटमा मनिषाले गोल गरेपछि पहिलो हाफमा विराटनगर ४-० ले अघि रह्यो । दोस्रो हाफमा विराटनगरले थप दुई गोल गर्यो ।

खेलको ८२ औं मिनेटमा कुशुमले गोल गर्दै टोलीलाई ५-० को अग्रता दिलाईन् । लगत्तै ८३ औं मिनेटमा पार्वतीले गोल गरेपछि विराटनगर ६(० ले विजयी भयो । जितसँगै विराटनगरले ४ खेलमा ७ अंक जोडेको छ । विराटनगर तेस्रो स्थानमा उक्लिएको छ ।

चौदण्डीको यो लगातार चौंथो हार हो । ४ खेलमा अंक विहीन चौदण्डी पुछारमा रहेको छ ।