काठमाडौं । राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी चम्किँदा साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातार पाँचौ जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा स्याङ्गजाको वालिङ नगरपालिकालाई ३-० गोल अन्तरले पराजित गर्दै एपीएफले अपराजित यात्रा कायम राखेको हो ।एपीएफको जितमा सावित्रा भण्डारीले दुई गोल गरिन् । यस्तै प्रिती राईले एक गोल थपिन् ।

बलियो टिम वालिङविरुद्ध खेलको १३ औं मिनेटमा सावित्राको गोलबाट एपीएफले अग्रता बनाएको थियो । खेलको ७१औं मिनेटमा प्रितीले गोल गर्दा एपीएफ २-० ले अघि रह्यो ।त्यसपछि खेलको ७४ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३-० को जित दिलाए ।

जितसंगै एपीएफले ५ खेलमा १५ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ । वालिङ ५ खेलमा ५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।