काठमाडौं । साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा फराकिलो जित निकालेको छ । आज एकै खेलबाट ६ वटा ह्याट्रिक पनि भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२-० गोल अन्तरले पराजित गरेको हो । एपीएफको जितमा सावित्रा भण्डारी एक्लैले १२ गोल गरिन् । सावित्राको चार ह्याट्रिकसँग अन्य थप २ वटा ह्याट्रिक भएको रेकर्ड बनेको छ ।

यस्तै कप्तान अनु लामाले ५ गोल गर्दा उपकप्तान अनिता बस्नेतले ३ गोल गरिन् । रेनुका नगरकोटी र सरु लिम्बुको नाममा एक-एक गोल रह्यो । यो जारी लिगमा अहिलेसम्मकै सर्वाधिक गोल हो ।

यससंगै एपीएफले लिगमा लगातार छैटौं जित निकालेको छ ।एपीएफले ६ खेलमा १८ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा यथावत रहेको छ ।

चौदण्डीको यो लगातार छैटौं हार हो । अंक विहीन रहेको चौदण्डी पुछारमा रहेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार एक खेल हुनेछ । मंगलबार वालिङ नगरपालिकाले चन्द्रपुर नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।