काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले फराकिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा आर्मीले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १२-० गोल अन्तरले पराजित गरेको हो । आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिकसहित ५ गोल गरिन् । सपना लामाले दुई गोल गरिन् ।

यस्तै कप्तान अन्जली वाइबा, हेमा चौधरी, बिमला चौधरी, बिमला बिक र रश्मी घिसिङले एक एक गोल गरे । प्रतियोगिताकै सबैभन्दा कमजोर टिम चौदण्डीविरुद्ध आर्मीले तेस्रो मिनेटमै अग्रता बनाएको थियो । कप्तान अन्जलीको पासमा मिडफिल्डर हेमाले गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिइन् ।

छैटौं मिनेटमा स्ट्राइकर शर्मिलाले बिमला चौधरीको पासमा गोल गर्दा आर्मी २-० ले अघि रह्यो । खेलको आठौं मिनेटमा शर्मिलाको पासमा कप्तान अन्जलीले गोल गर्दै टोलीको अग्रता तेब्बर बनाईन् । शर्मिलाले खेलको १२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा आर्मी ४-० ले अघि रह्यो ।

खेलको २३औं मिनेटमा शर्मिलाले ह्याट्रिक पुरा गर्दै आर्मीलाई ५-० को अग्रता दिलाईन् । ह्याट्रिक पुरा गर्ने क्रममा उनले बिमला चौधरीको पासलाई सदुपयोग गरिन् । २९औं मिनेटमा रश्मीको पासमा शर्मिलाले व्यक्तिगत चौंथो गोल गर्दा आर्मीले ६-० को अग्रता बनायो ।

खेलको ३०औं मिनेटमा बिमला चौधरीले गोल गर्दै आर्मीको अग्रता ७-० को बनाईन् । खेलको ३६ औं मिनेटमा शर्मिलाले व्यक्तिगत पाँचौ गोल गरेपछि पहिलो हाफमा आर्मी ८-० ले अघि रह्यो ।

दोस्रो हाफमा आर्मीले थप ४ गोल गर्यो । खेलको ४८औं मिनेटमा डिफेन्डर बिमला बिकले गोल गरेपछि आर्मी ९-० ले अघि रह्यो । खेलको ८४ औं मिनेटमा रश्मीले गोल गर्दै आर्मीलाई १०-० को अग्रता दिलाईन् ।

खेलको ८७ औं मिनेटमा सपनाले गोल गर्दा आर्मी ११-० ले अघि रह्यो । त्यसपछि खेलको ९० औं मिनेटमा सपनाले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मी १२-० ले विजयी भयो ।

तर, चौदण्डीविरुद्ध आर्मीले पहिलो रोजाईका ५ खेलाडी परिवर्तन गरेको थियो । मुख्य प्रशिक्षक राजु तामाङको अनुपस्थितिमा सहायक प्रशिक्षक सुशील श्रीवास्तबले गोलरक्षक बिसका राई, कप्तान अन्जली वाईवा, मोनिका कुश्वार, हेमा चौधरी र सुमित्रा योन्जनलाई पहिलो पटक मौका दिएका थिए ।

आर्मीले दिपा राई, अन्जना राना मगर, इन्दिरा राई, सपना लामा र कबिता धिमाललाई आराम दिएको थियो । जितसंगै आर्मीले ६ खेलमा १३ अंक जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा रहेको छ । चौदण्डीको यो लगातार छैटौं हार हो ।

यसैबीच, चौदण्डी अंक विहीन रहदै पुछारमा रहेको छ । आर्मीका सहायक प्रशिक्षक सुशील श्रीवास्तवले जित निकाले पनि बेन्चका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न नसकेको बताए ।

‘जितका लागि खेल्ने योजना थियो । त्यो पूरा भयो । आज बेन्चलाई खेलायौ तर, सोचे जस्तो राम्रो खेलेनन् । बेन्च टिम पनि राम्रो छ’, उनले भने ।

चौदण्डीका मुख्य प्रशिक्षक दिपक थापाले बल पोजिसन राख्न नसक्दा फराकिलो हार भएको बताए । ‘डिफेन्सको तालमेल नमिल्दा गोल खायौं । मिडफिल्डर र डिफेन्सबीच तालमेल भएन । बल पोजिसन राख्न सकेनौ । हारको मुख्य कारण त्यहि हो’, उनले भने ।