काठमाडौं । राष्ट्रिय महिला लिगको अन्तिम खेलमा दुई विभागीय टोली तथा उपाधिको दावेदार नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार निकालेको लिगको दोस्रो राउन्डको खेल तालिका अनुसार एपिएफ र आर्मीबीच लिग अन्तिम दिन अर्थात ७ फागुनमा प्रतिस्पर्धा हुने भएको हो ।

दोस्रो राउन्डको खेल शनिबारदेखि सुरु हुँदैछ । दोस्रो राउन्डको पहिलो खेलमा शुक्रबार त्रिभुवन आर्मी फुटबल क्लब र चौदन्डगढी नगरपालिका उदयपुबीच प्रतिस्पर्धा हुनेछ । आर्मीले पहिलो राउन्डमा चौदन्डगढीलाई १२-० ले पराजित गरेको थियो ।

त्यस्तै पहिलो राउन्डमा एपिएफले आर्मीलाई २-० ले हराएको थियो । एपिएफको जितमा अन्जली योन्जन र सरु लिम्बुले गोल गरेकी थिइन् । लिगको पहिलो राउन्डको ६ खेल सकिदा अपराजित रहेको एपिएफको १८ अंक पुगेको छ । एक गोल पनि नखाएको एपिएफले ४३ गोल गरेको छ । जसमा २४ गोल सावित्रा भण्डारी ‘साम्वा’ को नाममा रहेको छ ।

दोस्रो स्थानमा रहेको आर्मीको १३ अंक रहेको छ । आर्मी एपिएफसँग पराजित हुदा पुलिससँग गोलरहित बराबरी खेलेको थियो ।

विराटनगर १० अंक जोडेर तेस्रो तथा पुलिस ८ अंक जोडेर चौथो स्थानमा रहेको छ । ८ अंक रहेको वालिङ पाँचौ स्थानमा रहँदा चन्द्रपुरको ३ तथा चौदन्डीगढीले अंकको खाता खोल्न सकेको छैन ।