इलाम । ११औं पवित्रहाङमा कप खेलकुद प्रतियोगिता यही माघ २९ गतेदेखि सुरु हुने भएको छ। किरात धर्मगुरु आमा साँबा पवित्रहाङमा लिङ्देनको जन्मोत्सवको अवसरमा हरेक वर्ष माङसेबुङ गाउँपालिका-५ मा आयोजना हुँदै आएको प्रतियोगिता यस वर्ष कोरोनाको बावजुद पनि सञ्चालन हुने भएको हो।

आयोजक आत्मा पवित्र हक्चात् यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङका अनुसार प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर र भारतको दार्जिलिङ गरी आठ टिमको सहभागिता रहनेछ । इलाममा हरेक वर्ष महिला फुटबलको रुपमा पवित्रहाङमा कप प्रतियोगिता मात्र रहेको छ। जहाँ विभिन्न टिमबाट राष्ट्रिय स्तरका प्रतिनिधित्व गरेका खेलाडीहरु समेत देख्न सकिन्छ।

यस पटक एपिएससी दार्जिलिङ भारत, रोयल स्पोर्टस क्लब दमक झापा, माउण्ट एभरेस्ट स्पोर्टिङ क्लब चतरा सुनसरी, चुलाचुली गाउँपालिका खेलकुद समिति इलाम, पञ्चकन्या एफसी उदयपुर, सतिसाले एफसी मोरङ, खदम स्पोर्टिङ क्लब मोरङ र धरान फुटबल क्लब सुनसरीको सहभागिता रहने आयोजक यक्चुमका अध्यक्ष आङबुहाङले जानकारी दिए।

प्रतियोगिताको उद्घाटन खेलमा रोयल स्पोर्टस क्लब दमकले चुलाचुली गाउँपालिका खेलकुद विकास समितिसँग प्रतिस्पर्धा गर्नेछ । सोही दिन नै पञ्चकन्या एफसी उदयपुरले पाहुना टोली दार्जिलिङको सामना गर्नेछ। प्रतियोगिताको विजेताले एक लाख १६५ रुपैयाँ र उपविजेता टिमले ५० हजार १६५ रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउने छन्।

त्यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कार प्रदान गरिने छ। फाइनल खेल फागुन ३ गते हुनेछ।