अर्जुनधारा । नेपाल राष्ट्रिय शिक्षक संगठन अर्जुनधारा नगर समितिको दोस्रो अधिवेशनले केदारनाथ पोखरेलेको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । सर्वसम्मतबाट चयन भएका पदाधिकारी तथा सदस्यको नामावली घोषणासभा शनिबार सम्पन्न भएको छ ।

निर्वाचन मण्डलका अध्यक्ष नगेन्द्रप्रसाद खनालको अध्यक्षता र संगठनका राष्ट्रिय समिति सदस्य नारायणप्रसाद गौतमको प्रमुख आतिथ्यमा आयोजित सभामा उनीहरुको नामवली सार्वजनिक गरिएको थियो । अधिवेशनबाट आगामी तीन वर्षे कार्यकालका लागि उपाध्यक्षद्वयमा भेषराज खनाल र देउमाया दाहाल, सचिवमा दिपक भण्डारी, सहसचिवमा पुजा भारती, कोषाध्यक्षमा कुमार मिश्र र सहकोषाध्यक्षमा रञ्जना चेम्जोङ लिम्बू निर्वाचित भएका छन् ।

त्यसैगरी समितिको सदस्यमा कमलकान्त पौड्याल, कुमारी विसुङखे, कृष्णप्रसाद भट्टराई, चन्द्रप्रसाद तिवारी, चन्द्रा तामाङ, चित्रकला भेटवाल, जुनु भट्टराई, दिव्यकला गिरी, दुर्गाप्रसाद शिवाकोटी, नारायणप्रसाद खरेल, पर्शुराम भट्टराई, भेषराज अधिकारी, युवराज पोखरेल, लक्ष्मी खतिवडा, लीलाधर चौलागाईं, लोकनाथ दाहाल र विमला पौड्याल चयन भएका छन् । २५ सदस्यीय समितिमा एक जना सदस्य अवकाश प्राप्त शिक्षकहरुबाट समितिले मनोनयन गर्ने बताइएको छ ।

प्रमुख अतिथि गौतमले पद तथा गोपनीयताको सपथ ग्रहण गराएको कार्यक्रममा उनीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । सोही कार्यक्रममा समितिकी निवर्तमान अध्यक्ष सविता सुवेदीले नवनिर्वाचित अध्यक्ष पोखरेललाई संगठनको माइन्यूट हस्तान्तरण गरेकी थिइन् ।

यसैबीच, २०७५ चैत ९ गते सवारी दुर्घटनामा निधन भएका संगठनका पूर्व अध्यक्ष रामकुमार अछामीको स्मृतिमा नगर समितिद्वारा स्थापित अक्षयकोषबारे जानकारी गराइएको थियो । हालसम्म २७६ जनाबाट तीन लाख ५५ हजार २२१ रुपैयाँ जम्मा भएको अक्षयकोषमा थप सहयोग गर्न सबैलाई आह्वान गरिएको छ ।

आगामी दिनमा उक्त अक्षयकोषबाट कक्षा–८ र कक्षा–१२ मा उत्कृष्ट हुने नगरका एक–एक जना विद्यार्थी, पूर्व अध्यक्ष अछामीले अध्यापन गराएको विद्यालय गणेश आधारभूत विद्यालयका एक जना उत्कृष्ट विद्यार्थी र नगरका तीन जना उत्कृष्ट शिक्षकलाई पुरस्कृत गरिने नगर शिक्षक महासंघका अध्यक्ष पूण्यप्रसाद सुवेदीले जानकारी दिए ।

कार्यक्रममा संगठनका संस्थापक केन्द्रीय सदस्य बद्रीप्रसाद ओली, संगठन झापाका अध्यक्ष कृष्ण अधिकारी, सदस्य एवम् नगर इञ्चार्ज चन्द्र खत्री, पूर्व स्रोतव्यक्ति सूर्य सापकोटा, निवर्तमान अध्यक्ष सुवेदी, कालिस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद उप्रेतीलगायतले शुभकामना व्यक्त गरेका थिए । निर्वाचन मण्डलकी सदस्य तारा विकले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासंघका अध्यक्ष सुवेदीले गरेका थिए ।