काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिकाले दोस्रो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार विराटनगर महानगरपालिकालाई १-० गोल अन्तरले पराजित गर्दै चन्द्रपुरले लिगमा दोस्रो जित निकालेको हो । चन्द्रपुरको जितमा रजनी थोकरले निर्णायक गोल गरिन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७० औं मिनेटमा रजनीले गोल गरेकी हुन् । सुनिता भोलानको पासमा रजनीले विराटनगरकी गोलरक्षक कल्पना कार्कीलाई बिट गर्दै गोल गरिन् ।

यस अघि चन्द्रपुरले चौदण्डीगढीलाई हराएको थियो । त्यसबाहेक चन्द्रपुर अन्य ४ खेलमा पराजित भएको थियो ।दोस्रो जित निकालेसंगै चन्द्रपुरले ७ खेलमा ६ अंक जोडेको छ ।

चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ । विराटनगरको ७ खेलमा १० अंक सहित तेस्रो स्थानमा रहेको छ ।