मालाती मोक्तान,
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुको भेला गरेर बिभिन्न ९ वटा बिषयगत निर्णयहरु गरेको छ ।

पालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक शेरबहादुर लिम्बूको अध्यक्षमा बसेको समिक्षा बैठकले उक्त निर्णयहरु गरेर लागु गर्ने प्रतिवद्धता जनाएको छ । बैठकले एक जना संयोजक रहने गरी ३ सदस्यी गणित, अङ्ग्रेजी, बिज्ञान र नेपाली बिषयको बिषयगत समिति गठन गरेको छ ।

उक्त समितिले बिद्यालय निरीक्षण, अनुगामन तथा पृष्ठपोषण गर्नेछ । त्यस्तै बैठकले बिद्यालयमा सञ्चालन भइरहेको दिवा खाजा कार्यक्रम बिद्यालयमा नै बनाएर खुवाउनुपर्ने, आर्थिक बर्ष २०७६/२०७७ को लेखा परीक्षण फागुन मसान्तसम्म पालिकामा पेश गरिसक्नुपर्ने निर्णय गरेको छ ।

त्यस्तै शिक्षक कक्षा प्रवेश अघि र बाहिरिएको समय बिद्यार्थीहरुले अभिलेख राख्ने कार्यक्रम (टिएसटी) कार्यक्रम फागुन महिनादेखि कार्यान्वयन गर्ने निर्णय गरेको छ । त्यस्तै पालिकाले मासिकरुपमा दिइरहेको शिक्षक तलबका लागि हरेक महिनाको २५ गते भित्र माग फाराम पालिकामा पेश गर्नुपर्ने निर्णय गरेको छ ।

गाउँपालिका शिक्षा ऐनमा आधारित रहेर पालिका भरीका सामुदायिक बिद्यालयका शिक्षक कर्मचारी ब्यवस्थापन कार्यबिधि एकै खालको बनाउने निर्णय भएको छ । पालिकाले यस अघि सामुदायिक बिद्यालयहरुमा मात्र छात्राहरुलाई दिँदै आएको सेनिटरी प्याड अब पालिकाका सबै ७ वटै संस्थागत बिद्यालयहरुलाई पनि दिने निर्णय गरेको छ ।

बिद्यालयमा रहेको बिग्रिएका तथा मर्मत गर्नुपर्ने इ-हाजिरी मेसिन बनाउन र नृत्य, गायन र बाद्यय बाधन सिकाई कार्यक्रम तालिमका लागि पालिकामा प्रस्ताव पेश गर्ने बैठकले निर्णय गरेको छ । बैठकमा शिक्षा शाखा अधिकृत निर्मला सुबेदीले सामुदायिक बिद्यालयमा ३ आर्थिक बर्ष ०७४/२०७५, २०७५/२०७६ र २०७६/२०७७ को प्रगति बिवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा पालिका उपाध्यक्ष भीमकला क्षेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगर, योजना अधिकृत नेत्रबहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

बैठकको समापन गर्दै पालिका अध्यक्ष शेरबहादुर लिम्बूले शिक्षा क्षेत्रमा पालिका र बिद्यालयहरुले गरेका राम्रा र महत्वपूर्ण काम जनसमुदायस्तरमा सूचित गर्न आग्रह गर्नुभएको छ । बैठकमा नयाँ शैक्षिक प्रविधि टकिङ टिचर एप्लिकेशन सम्बन्धि जानकारी क्रियटिभ एडुटेन्टमेन्ट वर्ड प्रालि काठमाडौँका मोहन राईले प्रविधिको बारेमा जानकारी दिनुभएको थियो ।

६५ हजार रुपैंया पर्ने यस प्रविधिको नमुना बिद्याल, प्राबिधिकधार तर्फका बिद्यालय र उत्कृष्ट शिक्षण सिकाई भएका बिद्यालयहरुमा प्रयोग गर्न लागिएको पालिका अध्यक्षले जानकारी दिनुभयो । छथर जोरपाटी गाउँपालिकामा २८ सामुदायिक र ७ संस्थागत बिद्यालय रहेका छन् । रेडियो नेपालबाट