काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सातौं जित निकालेको छ ।

बिहीबार विराटनगर महानगरपालिकामाथि ७-० गोलको जित निकाल्दै आर्मीले लिगमा सातौं जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन शर्मिला थापा र विमला बिकले २र२ गोल गरिन् । यस्तै सपना लामा, विमला चौधरी र रश्मी घिसिङको नाममा एक एक गोल रह्यो ।

विराटनगरविरुद्ध सहज जित निकाल्ने क्रममा आर्मीले १८औं मिनेटमा शर्मिलाको गोलबाट अग्रता बनाएको थियो । शर्मिलाले विमला चौधरीको पासमा सहजै गोल गरिन् । खेलको २२औं मिनेटमा सपनाले गोल गर्दै आर्मीलाई २-० को अग्रता दिलाईन् । उनले डिबक्सबाहिरबाट हानेको प्रहार गोलमा परिणत भएको थियो ।

३१औं मिनेटमा आर्मीले ३-० को अग्रता बनायो । आर्मीको लागि तेस्रो गोल डिफेन्डर विमला बिकले गरिन् । खेलको ३४औं मिनेटमा विमला चौधरीले गोल गर्दै आर्मीलाई ४-० को अग्रता दिलाईन । खेलको ३९ औं मिनेटमा रश्मीले गोल गरेपछि आर्मीले पहिलो हाफमा ५-० को अग्रता बनायो । उनले विमला चौधरीले मिलाएको पासमा हेड गोल गरिन् ।

आर्मीले दोस्रो हाफमा थप दुई गोल गर्यो । खेलको ५० औं मिनेटमा विमला बिकले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मी ६-० ले अघि रह्यो । उनले करिब २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गरिन् । त्यसपछि खेलको ५४औं मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ७-० को जित दिलाईन् । उनले हेमा चौधरीको पास सदुपयोग गरिन् ।

जितसँगै आर्मीले शीर्ष स्थानको एपीएफमाथि दबाब कायम राखेको छ । दोस्रो स्थानको आर्मीले ९ खेलमा २२ अंक जोडेको छ । एपीएफको २४ अंक रहेको छ । विराटनगर १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

यसैबीच, आर्मीका मुख्य प्रशिक्षक राजु तामाङले विपक्षी बलियो नहुँदा सहज जित पाएको बताए । ‘सहज जित भयो । विपक्षी राम्रो देखिएन । हामीसँग उनीहरुले खेल्न सकेन’, उनले भने, ‘पाएको अवसर सबै सदुपयोग भयो ।’

विराटनगरका प्रशिक्षक पारस चौधरीले पहिलो हाफको तुलनामा दोस्रो हाफमा टिमले राम्रो खेलेको बताए । ‘पहिलो हाफमा लक्ष्य अनुसार खेल भएन । दोस्रो हाफ राम्रो भयो’, उनले भने, ‘४ गोल मात्रै खान्छौ भन्ने थियो तर धेरै गोल खायौं ।’