काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा एपीएफ क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । विभागीय टिम एपीएफ र वालिङबीचको खेल अपरान्ह १२ बजे सुरु हुनेछ ।

वालिङविरुद्ध मैदान उत्रदा एपीएफ अपराजित यात्रालाई कायम राख्न चाहन्छ । ८ खेलसम्म अपराजित एपीएफ २४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । एपीएफ वालिङलाई हराएर दोस्रो स्थानको त्रिभुवन आर्मीविरुद्ध अंक दुरी फराकिलो बनाउन समेत चाहन्छ ।

दोस्रो स्थानमा रहेको आर्मीको २२ अंक रहेको छ । तर, वालिङविरुद्ध एपीएफलाई जित निकाल्न सहज भने हुने छैन । अफ्रिकन खेलाडीको साथ पाएको वालिङ निकै बलियो रहेको छ ।

वालिङ १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । एपीएफलाई हराएर वालिङ अंक तालिका सुधार गर्न चाहन्छ ।

महिला लिग अन्तर्गत नै अर्को खेलमा विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिकाबीच खेल हुनेछ । विराटनगर र चौदण्डीबीचको खेल अपरान्ह ३ बजे सुरु हुनेछ ।

विराटनगर ९ खेलमा १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ । चौदण्डीलाई हराएर विराटनगर अंक तालिका सुधार गर्न चाहन्छ ।

चौदण्डी भने अंक विहीन रहेको छ । चौदण्डी पुछारमा रहेको छ । चौदण्डी विराटनगरलाई हराएर पहिलो जित निकाल्न चाहन्छ ।