0 Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा विराटनगर महानगरपालिकाले पुनरागमन जित निकालेको छ ।

शनिबार भएको खेलमा विराटनगरले चौदण्डीगढी नगरपालिकामाथि २-१ गोल अन्तरको जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विराटनगरलाई जित दिलाउन पार्वती घलेले दुई गोल गरिन् ।

चौदण्डीकी मनिता तामाङले एक गोल फर्काइन् । खेलको आठौं मिनेटमा मनिता तामाङले गोल गर्दै चौदण्डीलाई अग्रता दिलाएकी थिइन् । विराटनगरकी गोलरक्षक तथा कप्तान कल्पना कार्कीलाई बिट गर्दै मनिताले गोल गरेकी थिइन् ।

तर, खेलको १५ औं मिनेटमा पार्वती घलेले गोल गर्दै विराटनगरलाई १-१ गोलको बराबरीमा ल्याईन् । पार्वतीको चिप प्रहार चौदण्डीकी गोलरक्षक सुस्मिता राईले भेट्टाउन सकिनन् ।

त्यसपछि खेलको ८६ औं मिनेटमा पार्वतीले व्यक्तिगत दोस्रो गोल गर्दै विराटनगरलाई २-१ को जित दिलाईन् । जितसंगै विराटनगरले १० खेलमा १३ अंक जोडेको छ । विराटनगर लिगको पाँचौं स्थानमा रहेको छ । चौदण्डीको यो लगातार दशौँ हार हो । चौदण्डी पुछारमा रहेको छ ।

प्रतियोगिता अन्तर्गत आइतबार एक खेल हुनेछ । आइतबार हुने खेलमा त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगरपालिकाबीच खेल हुनेछ ।