काठमाडौं । साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा अपराजित यात्रा कायम राखेको छ ।

शनिबार भएको खेलमा वालिङ नगरपालिकालाई ६-० गोल अन्तरले हराउँदै एपीएफले जितको यात्रालाई कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिकसहित ५ गोल गरिन् ।

यस्तै प्रिती राईको नाममा एक गोल रह्यो । बलियो टिम वालिङविरुद्ध एपीएफले सातौं मिनेटमा सावित्राको गोलबाट अग्रता बनाएको थियो ।

खेलको १६ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाईन् । सावित्राले क्यामरुनी डिफेन्डर कोइनेग्ने र गोलरक्षक सावित्री किशनलाई बिट गर्दै सहजै गोल गरिन् ।

खेलको २० औं मिनेटमा सावित्राले ह्याट्रिक पुरा गर्दै एपीएफलाई ३-० को अग्रता दिलाईन् । पहिलो हाफको इन्जुरी समयमा परिवर्तित खेलाडी प्रितीले गोल गरेपछि पहिलो हाफमा एपीएफ ४-० ले अघि रह्यो ।

दोस्रो हाफमा एपीएफले थप दुई गोल गर्यो । खेलको ६४ औं मिनेटमा सावित्राले व्यक्तिगत चौंथो चौंथो गोल गरेपछि एपीएफले ५-० को अग्रता बनायो ।

त्यसपछि खेलको इन्जुरी समयमा सावित्राले व्यक्तिगत पाँचौ गोल गर्दै एपीएफलाई ६-० को सहज जित दिलाईन् । यस जित एपीएफको लगातार नवौं जित हो । यस्तै वालिङमाथि एपीएफको यो लगातार दोस्रो जित हो ।

यस अघिको खेलमा एपीएफले वालिङलाई ३-० ले हराएको थियो । जितसँगै एपीएफले ९ खेलमा २७ अंक जोडेको छ । एपीएफ अपराजित रहने एक्लो टिम हो । वालिङ ९ खेलमा १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।