अर्जुनधारा । झापाको अर्जुनधारामा आयोजित सहिद स्मृति पुरुष तथा महिला फुटबल प्रतियोगितामा पुरुषतर्फको उपाधि लायन्स क्लब बिर्तामोडले जितेको छ ।

अर्जुनधारा १ स्थित सहिद टेकमान स्मृति रंगशालामा शनिबार आयोजित फाइनल खेलमा आयोजक सहिद स्मृति युवा समूहलाई टाइब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै बिर्तामोडले उपाधि चुमेको हो । प्रतियाेगिता माघ १६ गतेदेखि सञ्चालनमा थियाे ।

निर्धारित समयमा दुवै टिमले १-१ गोल गरेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । निर्धारित समयको खेलमा बिर्तामोडका लागि सौरभ लिम्बूले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ७औँ मिनेटमा पाएको फ्रिकिकमा सौरभले आकर्षक गोल गरेका हुन् ।

तर, आयोजकका सरोज कार्कीले पहिलो हाफकै इन्जुरी समयमा गोल गर्दै खेललाई बराबरीमा पुराएका हुन् । विपक्षी गोलरक्षक सञ्जय गुरुङले वान भर्सेज वानमा भली बललाई नियन्त्रणमा लिन नसक्दा सरोजले रित्तो पोस्टमा गोल गरेका थिए ।

खेलको म्यान अफ दी म्याच बिर्तामोडका रोहन कार्की, बेस्ट प्लेयर अफ दी टुर्नामेन्ट आयोजकका सरोज कार्की, आयोजककै प्रमोद चौधरी बेस्ट डिफेन्स, बेस्ट स्ट्राइकर आयोजकका रविन राई, मिडफिल्डर मनोज राई, सर्वाधिक गोलकर्ता बिर्तामोडका नानी लिम्बू, राइजिङ प्लेयर आयोजकका विशाल माझी घोषित भए ।

विजेता टिमले नगद ३० हजार र ट्रफी पाएको छ । उक्त पुरस्कार धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाले प्रायोजन गरेको हो । त्यस्तै, उपविजेता टिमले नगद २० हजारमा चित्त बुझायो । उक्त पुरस्कार हचुमासा सामुदायिक वन उपभोक्ता समूहले प्रायोजन गरेको थियो ।

आयोजक समूहका अध्यक्ष कुमार लिम्बूको अध्यक्षतामा भएको फाइनल खेलमा विजेता तथा उपविजेता टिमलाई प्रमुख अतिथि अर्जुनधारा नगर खेलकुद विकास समितिका संयोजक अर्जुन मेचे, अर्जुनधारा १० का वडाध्यक्ष बलदेवसिंह गोम्देन, हचुमासाका अध्यक्ष युवराज लोहार, कृष्ण लोहारलगायतले पुरस्कार वितरण गरेका थिए ।