अर्जुनधारा । झापाको अर्जुनधारामा आयोजित सहिद स्मृति पुरुष तथा महिला फुटबल प्रतियोगितामा महिलातर्फको उपाधि इलाम फिक्कलको जनता सेभेन महिला फुटबल क्लबले जितेको छ ।

अर्जुनधारा १ स्थित सहिद टेकमान स्मृति रंगशालामा शनिबार आयोजित फाइनल खेलमा आयोजक सहिद स्मृति युवा समूहलाई ६-० गोल अन्तरले पराजित गर्दै जनता सेभेनले उपाधि चुमेको हो ।

जनता सेभेनका लागि अनिता राईले ह्याट्रिक पूरा गरेकी थिइन् । खेलको ५औँ मिनेटमै अनिताले गोल गरेर टिमलाई अग्रता दिलाइन् । त्यसपछि १०औँ र २४औँ मिनेटमा गोल गरेर उनले ह्याट्रिक पूरा गरेकी हुन् ।

त्यस्तै, पहिलो हाफको १४औँ मिनेटमा सजना यल्मु, दोस्रो हाफको १३औँ मिनेटमा निशा लेप्चा र ३५औँ मिनेटमा जेनिफर रानाले गोल गरेर सहजरुपमा उपाधि रक्षा गर्न मद्दत दिलाइन् ।

खेलको वुमन अफ दी म्याच र सर्वाधिक गोलकर्ता जनता सेभेनकी अनिता राई घोषित हुँदै नगद पुरस्कार पाउन सफल भइन् । त्यस्तै, वुमन अफ दी टुर्नामेन्ट आयोजककी जेनी राई घोषित भइन् ।

उपाधि विजेता जनता सेभेनले नगद १५ हजार र ट्रफी पाउँदा उपविजेता आयोजक टिमले नगद १० हजारमा चित्त बुझायो । महिलातर्फको पहिलो पुरस्कारको राशि हलुवागढ सामुदायिक वन उपभोक्ता समूहले प्रायोजन गरेको हो भने उपविजेताको पुरस्कार जेएनजे कन्ट्रक्सन दमकले प्रायोजन गरेको हो ।

आयोजक समूहका अध्यक्ष कुमार लिम्बूको अध्यक्षतामा भएको फाइनल खेलमा विजेता तथा उपविजेता टिमलाई प्रमुख अतिथि अर्जुनधारा नगर खेलकुद विकास समितिका संयोजक अर्जुन मेचे, अर्जुनधारा १० का वडाध्यक्ष बलदेवसिंह गोम्देन, हचुमासाका अध्यक्ष युवराज लोहार, कृष्ण लोहारलगायतले पुरस्कार वितरण गरेका थिए ।