काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग फुटबलमा सहज जित निकालेको छ ।

आइतबार भएको खेलमा आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६-१ गोल अन्तरले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन रश्मी घिसिङले ह्याट्रिकसहित ४ गोल गरिन् ।

यस्तै विमला चौधरीले दुई गोल गरिन् । चन्द्रपुरकी रजनी थोकरले सान्त्वना गोल फर्काईन् । खेलको १० औं मिनेटमा स्ट्राइकर रश्मीले गोल गर्दै आर्मीलाई अग्रता दिलाईन् । चन्द्रपुरको गोलरक्षक र डिफेन्डरको तालमेल नमिलेको फाइदा उठाउदै रश्मीले गोल गरिन् ।

चन्द्रपुर रश्मीको पूर्व क्लब समेत हो । रश्मीको खेलको २२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा आर्मी २-० ले अघि रह्यो । उनले विमला चौधरीको पासमा हेडमार्फत गोल गरिन् । खेलको २३ औं मिनेटमा विमलाले गोल गरेपछि आर्मीले ३-० को अग्रता बनायो ।

पहिलो हाफको इन्जुरी समयमा चन्द्रपुरकी रजनीले गोल गर्दा पहिलो हाफमा आर्मी ३-१ ले अघि रह्यो । खेलको ५० औं मिनेटमा रश्मीले पेनाल्टीबाट ह्याट्रिक पुरा गर्दा आर्मीले ४-१ को अग्रता बनायो । चन्द्रपुरको डिफेन्डरले हेमा चौधरीलाई डिबक्स भित्र फउल गरेपछि रेफ्री अस्मिता मानन्धरले आर्मीलाई पेनाल्टीको अवसर दिएकी थिइन् । जसमा रश्मी चुकिनन् ।

खेलको ५६ औं मिनेटमा विमलाले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मीले ५-१ को अग्रता बनायो । चन्द्रपुरकी गोलरक्षक युनिशा राईले फुत्काएको बललाई उनले सहजै गोल गरिन् । त्यसपछि खेलको ६१ औं मिनेटमा रश्मीले व्यक्तिगत चौंथो गोल गर्दै आर्मीलाई ६-१ को जित दिलाईन् ।

जितसँगै आर्मीले १० खेलमा २५ अंक जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा रहेको छ । आर्मी एपीएफ भन्दा २ अंकले पछि रहेको छ । एपीएफ ९ खेलमा २७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । चन्द्रपुर १० खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा एपीएफ र नेपाल पुलिस भिड्ने छन् । यस्तै दोस्रो खेलमा वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाबीच खेल हुनेछ ।