काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् । विभागीय डर्बी भिडन्त अपरान्ह १२ बजे सुरु हुनेछ । पुलिसविरुद्ध मैदान उत्रदा एपीएफ सहज जित निकाल्ने योजनामा हुनेछ ।

एपीएफ पुलिसलाई हराएर उपाधि होड बलियो बनाउन चाहन्छ । जारी लिगमा एपीएफ अपराजित रहने एक्लो टिम हो । एपीएफले ९ खेलमा २७ अंक जोडेको छ ।

पुलिस उपाधि होडबाट बाहिरिसकेको छ । तर, पुलिस एपीएफको अपराजित यात्रालाई पूर्णविराम लगाउने योजनामा रहेको छ । पुलिसले ९ खेलमा १४ अंक जोडेको छ । पुलिस लिगको चौंथो स्थानमा रहेको छ ।

अर्को खेलमा वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । दुबै टिम जित निकाल्ने लक्ष्यमा हुनेछन् । वालिङ ९ खेलमा १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । विराटनगर १० खेलमा १३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।