बिर्तामोड । झापामा पहिलोपल्ट साइक्लिङ च्यालेञ्ज प्रतियोगिता हुने भएको छ । स्लो बाइक रेस यसअघि भए पनि प्रतियोगिताकै रुपमा साइक्लिङ च्यालेञ्ज चाहिँ पहिलोपल्ट आयोजना गरिएको छ ।

‘साइकल चलाऔँ, स्वस्थ रहौँ, पर्यावरण जोगाऔँ, आन्तरिक पर्यटन प्रवर्द्धन गरौँ’, भन्ने नाराका साथ फागुन १५ गते ‘जेनियम साइक्लिङ च्यालेञ्ज २०२१’ हुने भएको हो । जसको विजेताले नगद ३५ हजार र गिफ्ट ह्याम्पर पाउने सोमबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

झापा धुलाबारीको जेनियम युवा क्लबको आयोजनामा हुन गइरहेको प्रतियोगितामा अन्दाजी २ सय प्रतियोगी सहभागी हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगितामा महिला तथा पुरुष सहभागी हुनेछन् । जसमा साविक मेची अञ्चलका ताप्लेजुङ, पाँचथर, इलाम र झापाका प्रतियोगी सहभागी हुने आयोजकका अध्यक्ष धनराज थापामगरले बताए ।

उनका अनुसार साइकलयात्रा झापाको धुलाबारी बजारबाट शान्तिनगर, बहुबन, तेलपानी, बौद्धमोड, बाहुनडाँगी, काँकरभिट्टा, इँटाभट्टाहुँदै पुनः धुलाबारी बजार आएर समाप्त हुनेछ । ४० किलोमिटर दूरीको रहने प्रतियोगिताका प्रथम हुनेलाई ३५ हजार, दाेस्राेलाई ३० हजार, तेस्राेलाई २० हजार रुपैयाँ प्रदान गरिने सचिव रोजेश प्रसाईंले बताए ।

त्यस्तै, चौथोलाई ३ हजार, पाँचौँलाई २ हजार र छैठौँदेखि दसौँसम्मलाई जनही १ हजार नगदसहित ट्रफी र आकर्षक पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न ५ लाख नौ हजार खर्च हुने अनुमान गरिएको कार्यक्रम सञ्चालक बुद्ध तामाङले जानकारी दिए । समग्र पुरस्कारकाे राशि एक लाख रूपैयाँ रहेकाे छ ।

झापामा मात्र ५ सयको हाराहारीमा साइक्लिस्टहरु रहेको अनुमान आयोजकको छ । आयोजकले निर्धारण गरेको रुटमा यसअघि सामान्यतः २ घण्टामा पार गरिएको रेकर्ड भए पनि छिटो चलाउनसक्ने साइक्लिस्टले एक घण्टादेखि डेढ घण्टाभित्र उक्त दूरी पार गरिसक्ने अध्यक्ष मगर बताउँछन् ।

प्रतियोगिताका लागि मेचीनगर नगरपालिका वडा नम्बर ९ र १० मुख्य प्रायोजक रहनेछन् । सहप्रायोजकको रुपमा टावर टेम्पल इङलिस बोर्डिङ हाइस्कुल बिर्तामोड र विर्ता आई हस्पिटल बिर्तामोड रहेका छन् । त्यस्तै, जोइनर जुस, यमी अनलाइन फुड डेलिभरीलगायतका व्यावसायिक प्रतिष्ठान पनि प्रतियोगितामा जोडिएका छन् ।