काठमाडौं । विभागीय टिम एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा अपराजित यात्रालाई कायम राखेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार विराटनगर महानगरपालिकालाई १-० गोलले पराजित गर्दै एपीएफले जितको यात्रालाई कायम राखेको हो । एपीएफको जितमा अनिता केसीले निर्णायक गोल गरिन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५औं मिनेटमा अनिताले निर्णायक गोल गरेकी हुन् । जितसंगै च्याम्पियन एपीएफले ११ औं जित निकालेको छ । दुई खेल अगावै च्याम्पियन बनेको एपीएफले ११ खेलमा ३३ अंक जोडेको छ । जारी लिगमा एपीएफ अपराजित रहने एक्लो टिम हो ।

बुधबार नै भएको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबसँग बराबरी खेलेपछि एपीएफ दुई खेल अघि नै च्याम्पियन बनेको हो । दोस्रो स्थानको आर्मीले ११ खेलमा २६ अंक जोडेको छ ।

एक खेल खेल्न बाँकी रहदा आर्मीविरुद्ध एपीएफ ५ अंकले अघि रहेको छ । विराटनगर १६ अंकसहित तेस्रो स्थानमा रहेको छ । लिगमा चौंथो स्थानको पुलिसको १५ अंक रहेको छ ।