काठमाडौं । बुधबारको खेलमा आर्मीले पुलिस टिमसँग बराबरी खेलेपछि त्यसको प्रत्यक्ष फाइदा एपीएफ टिमलाई पुगेको छ । दुई विभागीय टिमको खेल बराबरी हुँदा विभागीय टिम एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले १-१ गोलको बराबरी खेलेपछि एपीएफ च्याम्पियन बनेको हो । यस बराबरीसँगै एपीएफ दुई खेल अगावै च्याम्पियन बनेको हो ।

आर्मीले पुलिसलाई हराएको भए एपीएफलाई अर्को खेलको नतिजा कुर्नु पर्ने थियो । तर, आर्मी रोकिएपछि एपीएफले उपाधि पक्का गरेको हो । अब एपीएफले बाँकी दुई खेल गुमाए पनि उपाधि आफ्नो बनाउनेछ । पुलिससँग अंक खोसेको आर्मीले पनि उपविजेताको स्थान पक्का गरेको छ ।

दुई खेल अगाडि नै च्याम्पियन बनेको एपीएफले आज नै विराटनगरमाथि जित दर्ता गरेको छ । एपीएफको अपराजित यात्रासँगै ११ खेलमा ३३ अंक बटुलिसकेको छ । जारी लिगमा एपीएफ अपराजित रहने एक्लो टिम हो ।

दोस्रो स्थानको आर्मीले ११ खेलमा २६ अंक जोडेको छ । विराटनगर महानगरपालिका १६ अंकसहित तेस्रो स्थानमा रहेको छ । पुलिस ११ खेलमा १५ अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ ।