काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आफ्नो अन्तिम खेलमा वालिङ नगरपालिकाले सहज जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा वालिङले चन्द्रपुर नगरपालिकालाई ३-० ले हराएको छ । लिगको अन्तिम खेलमा वालिङलाई जित दिलाउन हिमा रावत, अमिशा कार्की र मेथो रुथले एक एक गोल गरिन् । खेलको १७ औं मिनेटमा हिमाले गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् ।

खेलको ४७ औं मिनेटमा रुथले गोल गर्दै वालिङलाई २-० को अग्रता दिलाईन् । त्यसपछि खेलको ५४ औं मिनेटमा अमिशाले गोल गर्दै वालिङलाई ३-० को सहज जित दिलाईन् । जितसँगै वालिङ लिगको तेस्रो स्थानमा उक्लिएको छ । वालिङले ११ खेलमा १७ अंक जोडेको छ ।

चन्द्रपुर ९ अंक जोडेर छैटौं स्थानमा रहेको छ । लिगको उपाधि भने एपीएफले जितिसकेको छ ।