काठमाडौं । विभागीय टिम एपीएफ क्लबले अपराजित रहदै राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ ।

शुक्रबार भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै एपीएफ अपराजित रहदै च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफलाई जित दिलाउन सरु लिम्बुले दुई गोल गरिन् ।

यस्तै अनिता केसीले एक गोल गरिन् । खेलको ४५ औं मिनेटमा सरुले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । उनले अनिता केसीको पासलाई सदुपयोग गरिन् ।

खेलको ८६ औं मिनेटमा अनिताले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाईन् । गोलकिपरको गल्तीमा अनिताले हेडमार्फत गोल गरेकी हुन् । त्यसपछि खेलको इन्जुरी समयमा सरुले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३-० को जित दिलाईन ।

आर्मीका गोलकिपर अन्जना राना मगर अघि बढेको अवस्थामा सरुले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरेकी थिइन् । जितसँगै एपीएफले लिगमा १० अंकको अग्रतासहित उपाधि हात पारेको हो । एपीएफले लगातार तेस्रो पटक लिगको उपाधि जितेको हो ।

एपीएफले १२ खेलमा ३६ अंक जोड्यो । लिगको अन्तिम खेलमा पराजित आर्मी उपविजेता बन्यो । आर्मीले १२ खेलमा २६ अंक जोड्न सफल भयो ।

उपाधिसंगै एपीएफले १५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले ८ लाख प्राप्त गर्यो । तेस्रो भएको नेपाल पुलिसले ५ लाख पाउँदा चौथो बनेको वालिङले ३ लाख प्राप्त गरेका छन् ।