काठमाडौं । विभागीय टिम एपीएफ क्लबकी सरु लिम्बु राष्ट्रिय महिला लिग फुटबलको सर्वोत्कृष्ट खेलाडी बनेकी छिन् ।

एपीएफलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेकी सरु सर्वोत्कृष्ट खेलाडी बनेकी हुन् । सर्वोत्कृष्ट खेलाडी बनेसंगै सरुले यामाहाको स्कुटर प्राप्त गरिन् ।

मिडफिल्डर सरुले लिगमा ६ गोल गरेकी थिइन् । एपीएफ लिगमा अपराजित रहदै च्याम्पियन बनेको हो । एपीएफ क्लबकी सावित्रा भण्डारी पनि उत्कृष्ट फरवार्डबाट पुरस्कृत भइन् ।

यस्तै, पुलिस क्लबकी अमृता जैशी उत्कृष्ट डिफेन्डर, आर्मी क्लबकी विमला चौधरी उत्कृष्ट मिडफिल्डर, पुलिस क्लबकी उषा नाथ उत्कृष्ट गोलकिपर र एपीएफ क्लबकी भगवती थापा उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले जनही ५० हजार प्राप्त गरेका छन् ।