केशब चापागाईं,
मदरगाछ (झापा) । स्थानीय जनकल्याण माविको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा जलथल एफसी प्रवेश गरेको छ ।

आज (विहीबार) भएको खेलमा जलथलले दमक फुटबल एकाडेमीलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । दीपज्योति युवा क्लब झापा गाउँपालिका ७ को आयोजनामा भइरहेको प्रतियोगितामा दमकमाथि २(० को गोल अन्तरको सहज जीतले जलथल सेमिफाइनलमा प्रवेश भएको हो ।

खेलको ९ र ३५ मिनेटमा जलथलका सुनिल खड्काले व्यक्तिगत २ गोल गर्दै टिमलाई विजयी गराएका थिए । योसंगै जलथल र श्रीनयाँ नाथ गण चारआली बीच सेमिफाइनल खेलमा भेट पक्का भएको छ।

आज भएको खेलको म्यान अफ दी म्याच जलथलका सुनिल खड्का भए । उनले १ हजार नगद पाए । भोलि (शुक्रबार) झापा एफसी राजगढ र दमक ब्रदर्स युनाइटेड चन्द्रगढीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा विजेता टिमलाई १ लाख १ हजार १११ र उपबिजेता हुने टिमलाई ५१ हजार १११ साथमा ट्रफी प्रदान गरिने खेल संयोजक नेत्रप्रसाद सिटौलाले बताए ।