आठराई (तेह्रथुम) । यहाँ जारी गजेन्द्र इस्वो स्मृति रनिङ फुटबल प्रतियोगिताको फाइनलमा तेह्रथुमकै दुई टिमले उपाधि भिडन्त गर्ने भएका छन् ।

शनिबार खाम्लालुङ खेलमैदानमा भएको सेमिफाइनल खेलमा सेन्लप युवा क्लबले नाइट स्टार फेदाप २ लाई टाइब्रेकरमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि टाइब्रेकर रोजिएको थियो । जसमा ३-१ गोल अन्तरले सेन्लप फाइनलमा प्रवेश गरेको हो ।

अन्तिम सेमिफाइनल खेलमा सीवाईसी म्यालुङ तेह्रथुमले फेदाप ४ र ५ को संयुक्त टिमलाई ३-० गोलले पराजित गर्दै सेन्लपसँग फाइनल भेट पक्का गरेको हो । सीवाईसीका लागि बुद्धिराज लिम्बू, विशाल काफ्ले र विवेक गुरुङले गोल गरेका थिए ।

आज (आइतबार) हुने फाइनल खेलको विजेताले नगद १ लाख २० हजार र उपविजेताले नगद ८० हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ ।

आठराई २ नम्बर वडा कार्यालय, खाम्लालुङ खेलकुद विकास समिति हङकङ र कालिका आविको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ १२ टिम सहभागी थिए ।