बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ५ को वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको थ्री एक्स थ्री बास्केटबल प्रतियोगिताको उपाधि रोसित र ओसिनको टिमले उचालेको छ ।

वडास्तरीय प्रतियोगिताअन्तर्गत पुरुषतर्फ रोसित र महिलातर्फ ओसिनको टिम विजयी भएको हो । समितिका सचिव विशाल अग्रवालका अनुसार किरात कल्याण संघमा भएको खेललाई नेपाल बास्केटबल लिगले सहयोग गरेको थियो ।

प्रतियोगिताको फाइनलमा पुरुष टिमले नियारा टिमलाई हराएको थियो भने महिला टिमले एसएमएस टिमलाई पराजित गरेको थियो । कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष विशाल धिमालले गरेका थिए ।

कार्यक्रममा लाइनिङ कम्पनीले झापाका महिला र पुरूष टिमका लागि एक-एक सेट जर्सी उपलब्ध गराएकाे थियाे । झापा जिल्ला बास्केटबल संघका अध्यक्ष प्रकाश लिङदेनले सहयाेगी हातहरूलाई धन्यवाद दिँदै बास्केटबल खेलकाे विकासका लागि यस्ता गतिविधि अघि बढाइरहने प्रतिवद्धता जनाए ।

प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई बास्केटबलका राष्ट्रिय कप्तान सदिस प्रधान, नेपाल बास्केटबल लिगका अध्यक्ष नमित थापा, प्रमुख अतिथि राष्ट्रिय सभाका पूर्वसदस्य हरिचरण शिवाकोटी, वडा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, झापा जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष शंकर थापा, झापा जिल्ला बास्केटबल संघका अध्यक्ष लिङदेन, अर्जुनधारा नगर खेलकुद विकास समितिका संयाेजक अर्जुन मेचेलगायतले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।

यसैबीच, संघका सचिव राहुल शर्माले बास्केटबल र खेलाडीको वृत्ति विकासका लागि संघले जिल्लाभित्र मात्र नभइ राष्ट्रियस्तरमै प्रतियोगिताको आयोजना गर्दै आएको भन्दै भावी दिनमा पनि जिल्लाका सबै खेलाडीलाई लक्षित गरी प्रतियोगिता आयोजना गरिने जनाएका छन् । पुरुषतर्फ ९ टिम र महिलातर्फ ४ वटा टिमको सहभागिता रहेको थियो ।