तेह्रथुम । गत फागुन १४ गते आगलागीमा परेको तेह्रथुम फेदाप गाउँपालिका– २ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयलाई इजरायलमा कार्यरत एक सहयोगीले भौतिक सामग्री हस्तान्तरण गरेका छन् ।
आगलागीमा परी विद्यालयका केही कोठा र भौतिक सामग्री पूर्णरूपमा जलेर नष्ट भएका कारण विद्यालय सञ्चालनमा समस्या भएको जानकारी पाएपछि सोही विद्यालयका पूर्वविद्यार्थी समेत रहेका देव बाँस्कोटाले करिब ५७ हजार रुपैयाँ बराबरको भौतिक सामग्री सहयोग गरेका हुन् ।
उनले व्यक्तिगतरूपमा सामाजिक तथा शैक्षिक उत्तरदायित्व सम्झेर प्रदान गरेको बताएका छन् । समाजसेवी बाँस्कोटाले स्थानीय कृष्ण न्यौपाने र शिव न्यौपानेमार्फत विद्यालयलाई २० थान प्लास्टिक कुर्सी, १ थान स्टिल टेबल, १ थान घुम्ने कुर्सी र १ थान स्टील दराज विद्यालय व्यवस्थापन समितिका सदस्य सन्तवीर लिम्बूलाई मंगलबार हस्तान्तरण गरेका हुन् ।
सिद्धकाली माध्यमिक विद्यालयमा गत फागुन १४ गते राति अचानक आगलागी हुँदा विद्यालयको प्रशासनिक भवन पूर्णरूपमा जलेर नष्ट भएपछि विद्यालयको प्रशासन सञ्चालनमा समस्या भएको थियो । विद्यालयको विपत्तिमा स्वतस्फूर्त सहयोग गरेको बताउने बाँस्कोटाले प्रशासन संचालनमा सहज होस् भनी उक्त सामग्री हस्तान्तरण गरिएको जानकारी दिएका छन् ।
दाता बाँस्कोटाको अगुवाईमा एक वर्षअगाडि सोही विद्यालय परिसरमा १३ लाख रुपैयाँ खर्चेर एक सरस्वती मन्दिर र मन्च निर्माण गरिएको थियो ।