बिर्तामोड । शिवसताक्षी नगरपालिकाको कर्मचार िटिम झापा जिल्ला अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

डोमालाल राजवंशी रंगशालामा आज (आइतबार) सम्पन्न फाइनल खेलमा दमक नगरपालिकाको कर्मचारी टिमलाई २-१ गोलअन्तरले पराजित गर्दै शिवसताक्षी कर्मचारी टिम च्याम्पियन बनेको हो । उसका लागि चन्द्रप्रसाद पौडेल र कञ्चन मल्लिकले गोल गरे । दुवै गोल पहिलो हाफ र अन्तिम हाफमा सम्भव भएको थियो ।

यस्तै, दमकका लागि योगेश भट्टराईले सान्त्वना गोल गरे । उनले दोस्रो हाफको इन्जुरी समयमा गोल गरे पनि जीतका लागि सम्भव भएन ।

झापाका १५ वटा पालिका सहभागी भएको प्रतियोगिताको बेस्ट प्लेयर च्याम्पियन शिवसताक्षीका प्रकाश योङहाङ घोषितहुँदै नगद ५ हजार पाउन सफल भए । शिवसताक्षीकै कञ्चन मल्लिकले सर्वाधिक गोलकर्ता भएर नगद ३ हजार पाए भने फाइनल खेलको म्यान अफ दी म्याच शिवसताक्षीकै उमेश दाहाल भएर नगद २ हजार पाए ।

बिर्तामोड नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको च्याम्पियनले नगद ५१ हजार र ट्रफी पायो भने उपविजेताले नगद ३१ हजारमा चित्त बुझायो ।

विजेता तथा उपविजेतालाई बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटी, उपमेयर पवित्रा महतरा, शिवसताक्षीका मेयर चन्द्रप्रसाद शेर्मा, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’लगायतले पुरस्कार वितरण गरेका थिए ।