इलाम । शुक्रबारको खेलबाट इलाम आमन्त्रण खुल्ला पुरुष भलिबलको सेमी समिकरण पूरा भएको छ । साविक विजेता गण्डकी प्रदेशलाई हराउँदै विभागीय त्रिभुवन आर्मी क्लब दोस्रो संस्करणको प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार दोस्रो खेलमा आर्मीले गण्डकीलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । आर्मीले गण्डकीलाई २५–१५, २५–१८, २१–२५ र २५–१९ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । आर्मीले सुरुवाती दुबै सेटमा सहज जित निकालेको थियो ।

आर्मीले समूह ‘ए’ बाट विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो । आर्मी ३ खेलमा ३ मा जितसहित ७ अंकका साथ सेटको आधारमा शीर्ष स्थानमा रह्यो ।

शुक्रबारै भएको दोस्रो खेलमा गौरादह नगर खेलकुद विकास समितिले विमान ट्रेडर्स विर्तामोडलाई वाकओभर दिएसँगै सेमिफाइनलको समिकरण पूरा भएको हो । योसँगै विमान ट्रेडर्स विर्तामोड समूह ‘ए’ को उप विजेता बनेको छ । विमान ३ खेलमा २ मा जित र १ मा हार सहित ७ अंकका दोस्रो स्थानमा रह्यो । ३ खेलमा नै विजयी भएको आर्मी समान ७ अंक जोडेर शीर्ष स्थानमा रह्यो गण्डकी ३ अंकका साथ तेस्रो स्थानमा रहदै बाहिरियो ।

गौरादह १ अंकका साथ बाहिरिएको छ । समूह ‘बी’ मा एपिएफ २ खेलबाट ५ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्यो । पुलिस ४ अंकका साथ दोस्रो स्थानमा रहँदै समूह उप विजेता बन्यो भने दमक अंकविहीन हुन पुगेको छ ।

शनिबार हुने पहिलो सेमिफाइनलमा आर्मीले पुलिस र दोस्रो सेमिफाइनलमा एपिएफ बिमान ट्रेडर्स बिर्तामोडसँग भेट पक्का गरेको छ ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको विजेताले दुई लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुने टोलीले एक लाख एकह जार र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ हात पार्नेछ ।