इलाम। इलाम १ स्थित नेपालटारमा शुक्रबारबाट शुरु भएको साखेजुङ गोल्डकपको उद्घाटन खेलमा आयोजक साँखेजुङ फुटबल क्लबलाई हराउँदै फुङवा युवा क्लबले विजयी यात्रा शुरु गरेको हो ।

फुङवा युवा क्लबले १-० गोल अन्तरले आयोजक साँखेजुङ्ग फुटबल क्लबमाथि जीत दर्ता गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको फुङवा क्लबका लागि दिपेश बर्देवाले निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच पनि उनै दिपेश बर्देवा घोषित भएका थिए ।

साँखेजुङ्ग फुटबल क्लबको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको उद्घाटन कृषि भूमि तथा सहकारी राज्यमन्त्री राम रानाले उद्घाटन गरेका थिए ।

प्रतियोगिताको शनिबारको खेल हेलिबोध फुटबल क्लब इलाम नगरपालिका-५ बिब्ल्याँटे र आरवाइसी देउमाई नगरपालिका बीच हुने आयोजक समितिका सचिव रमेशकुमार राईले जानकारी दिए ।

आठ टीम सहभागी प्रतियोगिताका विजेताले एक लाख ११ हजार १११ रुपैयाँ र उपविजेता टीमलाई ५५ हजार ५५५ रुपैयाँ पाउनेछ ।

प्रतियोगिताका विजेता टीमलाई प्रदान गरिने पुरस्कारको प्रायोजन रमेश चाम्लिङ राई, बुद्ध मगर, दिलिप लुहुन राई, पर्शुराम विष्ट, आशिष साम्पाङ राई र बिरेन गुरुङ्गले गरेका हुन् ।