खुदुनबारी । झापाको अर्जुनधारा-२ स्थित साठीमुरेमा आयोजित प्रथम साठीमुरे गोल्डकपको उपाधि एभरग्रीन फुटबल क्लब इलामले जितेको छ ।
स्थानीय साठीमुरे खेल मैदानमा शनिबार सम्पन्न भएको प्रतियोगिताको फाइनल खेलमा गुनमुने फुटबल क्लब इलामलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै एभरग्रीनले उपाधि जितेको हो ।
निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । जितसँगै विजेता र उपविजेता टिमले नगद पुरस्कार क्रमश २५ हजार र १५ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
त्यसैगरी प्रतियोगिताको म्यान अफ दी टुर्नामेन्ट सूर्य मगर (गुनमुने), फाइनल खेलका म्यान अफ दी म्याच दीपेश मगर (गुनमुने), बेस्ट गोलकिप्पर कमल मगर (गुनमुने), बेस्ट डिफेन्स सुगम लिम्बू (एभरग्रीन), हाइएस्ट स्कोरर वचन लिम्बू (एभरग्रीन) र फेयर प्ले दूधे युवा क्लब इलाम घोषित भएका छन् ।
विजेता र उपविजेता हुने खेलाडीहरुलाई प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, नगर कार्यपालिका सदस्य रमेश त्रिखत्री, नगर सभा सदस्य बलबहादुर समाल मगर, माई नगर सभा सदस्य केशरकुमार राई, शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तुलसीप्रसाद खतिवडा, समूहका पूर्व वरिष्ठ उपाध्यक्ष रुपनारायण समाल, वेलटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष योगप्रसाद आचार्य, स्थानीय शान्ति युवा समाजका अध्यक्ष अर्जुन समाललगायले पुरस्कारहरु वितरण गरेका थिए ।
स्थानीय साठीमुरे युवा क्लबको आयोजनामा गत फागुन २२ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा झापा र इलामका २३ टिमको सहभागिता रहेको क्लबका संयोजक सुजन दर्लामी मगरले जानकारी दिए ।